दुई कैदीको हत्यामा प्रहरी र चौकीदारको संलग्नता
संखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी र चौकीदारको संलग्नता देखिएको छ।
घटनाको छानबिन गर्न गठित समितिले प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ। छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले कुटपिटमा कारागारमा खटिएका केही प्रहरी र सात कैदीको समेत संलग्नता देखिएको बताए।
साउन २४ गते कारागारभित्रै दुई जना कैदीको हत्या भएको थियो। यसको छानबिनका लागि कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन भएको थियो।
टोलीले कारागारको सीसीटीभी फूटेजको अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदार सहित केही कैदीको संलग्नता देखिएको पाण्डेले बताए। समितिले शुक्रबार घटनाको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने तयारी गरेको उनले बताए।
छानबिन समितिका संयोजक पाण्डेका अनुसार घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी सहित केही प्रहरी र सात कैदीको संलग्नता देखिएको छ। मृत्यु प्रकरणमा मुछिएका इन्चार्ज चौधरी सहित सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ। चौधरीलाई साउन २८ गते पक्राउ गरी अनुसन्धान थालिएको थियो।
उनलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको छ भने कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन।
घटनाको छानबिन टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानून अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालयका अधिकृत भोगेन्द्र श्रेष्ठ छन्। २५ जनाको क्षमता रहेको कारागारमा अहिले १३६ कैदीबन्दी छन्।