उपमेयरलाई बेवास्ता गर्दै मेयरले वडाध्यक्षलाई दिए कार्यवाहक
कानून अनुसार मेयरको अनुपस्थितिमा उपमेयरलाई कार्यवाहक तोकिन्छ तर झापाको शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्रा ‘रोशन’ ले उपमेयरलाई बेवास्ता गर्दै वडाध्यक्षलाई कार्यवाहक दिएका छन्।
एक साता लामो जापान भ्रमणमा जाँदा मेयरले वडा नंं ४ का वडाध्यक्ष विष्णु प्रसाईंलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्। साउन ३१ देखि भदौ ५ गतेसम्मका लागि आफूले कार्यवाहकको जिम्मेवारी पाएको वडाध्यक्ष प्रसाईंले बताए।
झापाको शिवसताक्षीसँगै कमल गाउँपालिका, गौरादह र गौरीगन्ज नगरपालिकाका मेयर पनि जापान भ्रमणमा गएका छन्। तीनै स्थानीय तहका प्रमुखले उपाध्यक्ष तथा उपमेयरलाई निमित्त कार्यवाहकको जिम्मेवारी दिएका छन्।
यसमा उपमेयर कार्कीले पनि असन्तुष्टि जनाइन्। “मेयरले उपमेयर हुँदाहुँदै अरूलाई कार्यवाहकको जिम्मेवारी दिन नमिल्ने हो, तर खै उहाँले किन वडाध्यक्षलाई दिनुभयो,” कार्कीले भनिन्।
यस विषयमा मेयर थोप्राले बोल्न मानेनन्। अहिले आफू काममा व्यस्त रहेको भन्दै फोन काटे।
उपमेयरलाई अवहेलित पार्ने गरी वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै मेयर थोप्राको आलोचना भइरहेको छ। कमल गाउँपालिकाकी पूर्व अध्यक्ष मेनुका काफ्ले महिला भएकाले उपमेयरमाथि विभेद गरिएको बताउँछिन्।
“राजनीतिक रूपमा महिलालाई अहिले पनि कमजोर मानिन्छ, यो भनेको पुरुषवादी चिन्तन नै हो,” काफ्ले भन्छिन्, “नभए स्थानीय सरकार सञ्चालन ऐनमा स्पष्ट लेखिएको व्यवस्थालाई कुल्चने आँट मेयरले किन गर्नुहुन्थ्यो?”