नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन्।
चीनको कुन्मिङमा आयोजित १६औं चीन–दक्षिण एशिया व्यापार मञ्चको बैठकमा बोल्दै ढकालले नेपालमा लगानीका थुप्रै अवसर रहेको उल्लेख गरे। मध्यम वर्गीय जनसंख्याको वृद्धि, बहुर्राष्ट्रिय कम्पनीले गरेको उच्च नाफा र चीन तथा भारतका बजारसम्मको सहज पहुँचले लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य रहेको ढकालको भनाइ थियो।
मञ्चको अध्यक्षका रूपमा सम्बोधन गर्दै ढकालले चीन र दक्षिण एशियाली क्षेत्रबीच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नुपर्ने बताए। विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तरनिर्भरतालाई थप बलियो बनाउनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि सहकार्य गर्न समेत आह्वान गरे। विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितताहरू कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सिर्जना गरेको महामारी र आपूर्ति शृङ्खलामा देखापरेका अवरोधबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न आपसी सहकार्य बढाउनुपर्ने उनको भनाइ थियो।