सन्दीप विरुद्धको बलात्कार मुद्दामा पीडित बालिका र आमाको जन्ममिति यकीन गर्न आदेश
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित बालिका र उनकी आमाको जन्ममिति यकीन गर्न आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले पीडित बालिकासँगै उनकी आमाको जन्ममिति यकीन गर्न आदेश दिएको जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बताए। “पीडित बालिका र आमाको दुई वटा जन्ममिति देखिएकोले यकीन गर्न आदेश आएको छ,” परियारले भने।
पीडित बालिकाका पक्षबाट पेश भएको कागजातमा बालिकाको जन्ममिति २०६२ जेठ उल्लेख छ। त्यस्तै, सन्दीप पक्षका कानून व्यवसायीले २०६१ जेठ भनेर अर्को कागज पेश गरेका छन्। यसमा यकीन गर्न अदालतले वडा कार्यालयलाई आदेश दिएको हो।
त्यस्तै, बसाइँसराइ सम्बन्धी कागजमा पीडित बालिकाकी आमाको जन्ममिति पनि फरक देखिएको छ। त्यसमा बालिकाकी आमाको जन्ममिति २०५३ साल देखिएको छ। बसाइँसराइको कागजमा आमा र बालिकाको उमेरमा १० वर्ष मात्रै फरक देखिएकाले यकीन गर्न आदेश आएको परिवारले बताए।
यो मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गर्ने तय भएको थियो। तर, पीडित बालिकाको दुई वटा जन्ममिति देखिएपछि यकीन गर्न आदेश आएको छ।
सर्वोच्च अदालतले गत फागुन १५ गते यस मुद्दालाई ‘फास्ट ट्र्याक’ मा टुङ्ग्याउन आदेश दिएको थियो। तर, पेशी चढे पनि पटक पटक स्थगित हुँदै आएको छ।
सन्दीपले बलात्कार गरेको भन्दै २०७९ भदौ २१ मा बालिकाले काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया थालेको थियो।
त्यति वेला सन्दीप राष्ट्रिय क्रिकेट टोलीका कप्तान थिए। अनुसन्धान प्रक्रिया शुरू भएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बन गरेको थियो।
गत कात्तिक १८ मा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर, उच्च अदालत, पाटनले त्यसलाई उल्टाएको थियो। उच्च अदालतले केही शर्त राखेर २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जसमा विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्दा प्रहरीलाई खबर गर्नुपर्ने लगायत शर्त थिए।
उनलाई रिहा गर्ने आदेश विरुद्ध महान्यायाधिवक्ताको कार्यालय र शर्त विरुद्ध सन्दीप सर्वोच्च पुगेका थिए। त्यसपछि गत फागुन १५ मा उच्चको आदेश सदर गर्दै विदेश जान अनुमति दिने आदेश गरेको थियो।
त्यसका आधारमा उनी राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न आवतजावत गरिरहेका छन्। यसअघि उनी क्रिकेट खेल्न विदेशमा रहेका कारण सुनुवाइ प्रक्रिया पनि रोकिएको थियो।