एमालेले अध्यक्ष बाहेक अरूकाे फोटो नराख्ने
नेकपा (एमाले)ले कार्यक्रम गर्दा पार्टी अध्यक्ष बाहेकको तस्वीर नराख्ने भएको छ।
कार्यक्रमलाई छिटो र छरितो बनाउने भन्दै यस्तो गरिएको हो। एमालेको साउन २९ गते बसेको सचिवालय बैठकले पाँचबुँदे मापदण्ड तय गरेको हो। यसलाई अब अन्तरपार्टी निर्देशन (अपानि)का रूपमा जारी गरिने उपमहासचिव विष्णु रिमालले जनाएका छन्।
नयाँ मापदण्ड अनुसार अब एमालेका कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली बाहेक अरूको तस्वीर नराखिने भएको छ। यसअघि पुष्पलाल श्रेष्ठ, मदन मण्डारी र मनमोहन अधिकारीको तस्वीर राखिने गरेको थियो।
त्यस्तै, मञ्चको प्रयोग वक्ताले मात्रै गर्न पाउनेछन्। यससँगै अतिथि र वक्तालाई पनि दर्शकदीर्घामै बसालिने भएको छ।
कार्यक्रम शुरू भइसकेपछि आसन ग्रहणको उद्घोषण नगरिने भएको छ। यस्तै, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय भएको रिमालले जनाएका छन्।
यी मापदण्ड केन्द्रदेखि गाउँस्तरसम्म लागू गरिने भएका छन्। यसका लागि छिटै अपानि जारी गरिने एमालेले जनाएको छ।