मध्यबर्खामा पनि किन गइरहेको छ झ्यापझ्याप बिजुली?
बिजुली मनग्ये उत्पादन हुने मध्यवर्षा याममा पनि झ्यापझ्याप बिजुली जाने समस्याले देशभरका उपभोक्ता मर्कामा छन्। काठमाडौं उपत्यकामै पनि बिजुली आउने-जाने ठेगान छैन।
घरायसी र औद्योगिक-व्यावसायिक दुवै ग्राहक अनियमित विद्युत् आपूर्तिबाट आजित छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार देशमा विद्युत् उत्पादन क्षमता दुई हजार ८०० मेगावाट नाघिसकेको छ। तर, वर्षा याममा बिजुली उत्पादन भए जति माग छैन। तैपनि, विद्युत्को सुनिश्चित प्रवाह भइरहेको छैन।
बिजुली किन अनियमित भइरहेको छ?
जलविद्युत् क्षेत्रका जानकारहरूले बिजुली पर्याप्त उत्पादन हुने वर्षा याममा पनि विद्युत् आपूर्तिमा समस्या आउनुको पछाडि आवश्यक पूर्वाधारको अभावलाई कारक मानेका छन्। उनीहरूले गुणस्तरीय विद्युत् आपूर्तिका लागि समग्र प्रणालीमै सुधार चाहिएको र सरकार यसमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
ललितपुरमा साउन ३१ मा आयोजित एक कार्यक्रममा विज्ञहरूले समस्यालाई छोप्नेभन्दा स्वीकार गरेर समाधानतिर लाग्न विद्युत् प्राधिकरणले योजनाअघि सार्नुपर्नेमा जोड दिए। विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अहिलेको समस्या विद्युत्को आपूर्तिसँग सम्बन्धित नभएको बताउँदै वितरण र प्रसारण लाइन पूर्वाधारमा ठूलो सुधारको आवश्यकता औंल्याए। शाक्यले पछिल्लो समयमा विद्युत्को निरन्तर आपूर्ति हुन सक्ने क्षेत्रमा समेत बारम्बार विद्युत् जाने-आउने गर्नुले प्रणालीको अस्वस्थता देखाएको बताए।
उनले विद्युत् प्रणाली सञ्चालनमा भएको समस्या छोप्न नहुने बरु समाधानका विकल्पमा काम गर्नुपर्ने बताए। उनका अनुसार प्रसारण लाइन, सबस्टेशन तथा वितरण लाइन अपर्याप्त भएकाले अहिले समस्या देखापरेको हो। “विद्युत् खपत बढ्दै गएपछि प्रणालीभित्रको समस्या सतहमा देखापर्न थाल्यो। विद्युत् क्षेत्रको योजना निर्माणमा नै अपर्याप्तता छ,” शाक्यले भने, “भविष्यमा माग र पूर्वाधार निर्माणमा आउन सक्ने सम्भावित जोखिमलाई समेत ख्याल राखेर योजना निर्माण गरिनुपर्छ।”
उनले एउटा क्षेत्रमा निर्धारित प्रसारण लाइन निर्माण नहुने अवस्था देखिएमा वैकल्पिक व्यवस्थापनतर्फ सोच्नुपर्नेमा सचेत बनाए।
प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक शेरसिंह भाटले वितरण प्रणालीको सुधारका लागि योजना भए पनि कार्यान्वयन हुन नसकेको बताए। २०२२ सालमा बेलायत सरकारले निर्माण गरिदिएको ११ केभी वितरण प्रणालीमै काठमाडौंको विद्युत् प्रणाली सञ्चालन भइरहेकाले पूर्वाधार निर्माणमा योजनाबद्ध काम नभए विद्युत्को सुनिश्चित प्रवाहमा शङ्का उब्जिइरहने भाटको भनाइ थियो।
भारतबाट विद्युत् आयात र निर्यात गर्दा पनि विद्युत् आउने-जाने भइरहेको उनको अनुमान छ। खासगरी, विद्युत् निर्यात गर्दा तोकिएको परिमाण अविछिन्न राख्न वा आयात गर्दा पनि बढी विद्युत् नलिन देशभित्र विद्युत् व्यवस्थापन गर्नुपर्ने उनले बताए।
प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हरराज न्यौपानेले पछिल्लो समयमा लोड व्यवस्थापनमा व्यवधानले गर्दा विद्युत्को लगातार आपूर्तिमा समस्या निम्तिए पनि यो लोडसेडिङको अवस्था भने नरहेको बताए। अल्पकालमा विद्युत् व्यवस्थापनका लागि पूर्वाधार निर्माणमा काम भइरहे पनि दीर्घकालीन योजना अनुसारका काम भने अघि नबढेको बताए। “दीर्घकालीन सुधारका लागि पूर्वाधार निर्माणको योजना अनुसारको काम कि त शुरू नै भएनन् कि कार्यान्वयन सुस्त भयो,” न्यौपानेले भने।
विद्युत् प्राधिकरणका अर्का पूर्व उपकार्यकारी निर्देशक सुरेन्द्रराज राजभण्डारीले प्रसारण लाइन निर्माणमा योजना अनुसार काम हुन नसकेको तथा गुरुयोजनाभन्दा बाहिर खल्तीबाट झिकेर प्रसारण लाइन निर्माण गर्ने प्रवृत्ति घातक भएको बताए। एउटा ४०-५० मेगावाटको आयोजनामा समस्या आउनासाथ समग्र प्रणालीमै विद्युत् आपूर्ति अनियमित हुनु चिन्ताजनक भएको उनको भनाइ थियो।
“नेपालमा विद्युत् वितरणको कुनै योजना नै छैन,” राजभण्डारीले भने, “विद्युत् वितरणको व्यवस्थित योजना बनाउन आवश्यक छ।” उनले जलविद्युत् आयोजनामा जोखिम विश्लेषण हुनुपर्ने तथा जलविद्युत् र अन्य अर्थ-सामाजिक पक्षमा एकीकृत विकास रणनीति चाहिनेमा पनि जोड दिए।
काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनीयरिङका सहप्राध्यापक विशाल सिलवालले भविष्यसम्मको विद्युत् माग र आपूर्तिको विश्वासयोग्य आकलन गरेर योजना निर्माण गर्ने, अन्तर्राष्ट्रिय मानकलाई पछ्याउने भन्दा तदर्थवाद र कामचलाउ अभ्यास हुने गरेको बताए। सिलवालले नेपालको ध्यान विद्युत् उत्पादनमा मात्रै गइरहेको तर त्यसको प्रयोग, प्रवाह, पूर्वाधार क्षमतामा नसोचिएको बताए।
उनले योजना बनाउँदा, विद्युत्को माग र आपूर्तिको प्रक्षेपण गर्दा पनि यथार्थपरक योजना निर्माण नभइरहेको बताए। सिलवालले भने, “समयमै प्रसारण लाइन नबन्ने हो भने सन् २०२५ मा हिउँद याममा दैनिक १२ करोड र वर्षामा १७ करोड बराबरको बिजुली खेर जान्छ।”
पूर्वाधारविज्ञ कमल पाण्डेले विना सूचना झ्यापझ्याप विद्युत् आउने-जाने तथा भोल्टेज धेरै भएर घरायसी विद्युतीय सामान र उपकरणमा क्षति पुगिरहेको बताए। पाण्डेले भने, “यसरी विद्युतीय उपकरण बिग्रिंदा त्यसको क्षतिपूर्ति कसले दिने हो? दाबी कहाँ गर्ने हो?”
मानव अधिकार अभियन्ता सुशील प्याकुरेलले पनि विद्युत् आपूर्तिमा भइरहेको समस्याले गर्दा सर्वसाधारणका घरका विद्युतीय उपकरण मात्रै होइन, उद्योगमा पनि ठूलो क्षति भइरहेको बताए। खासगरी देशको पूर्वी भागका उद्योगीले ठूलो समस्या बेहोरिरहेको प्याकुरेलको भनाइ थियो।
नेपालमा विद्युत् व्यवस्थापनको जिम्मा पाएको विद्युत् प्राधिकरणले पनि प्रसारण र वितरण प्रणाली पूर्वाधारमा समस्याले गर्दा विद्युत् आपूर्तिमा समस्या आउने गरेको बताउँदै आएको छ। विगतमा लामो समयसम्म लोडसेडिङ हुने गरेकोमा अहिले त्यस्तो अवस्था नरहेको प्राधिकरणले बताउँदै आएको छ। प्राधिकरण भदौ १ मा ३८औं वार्षिकोत्सव मनाउँदै छ।