पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध छन्।
लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अन्तर्गत निसीखोला गाउँपालिका-४, कालापैरा तथा करिडोरको बाग्लुङ नगरपालिका-१०, दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो। बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन केसीले बताए।
वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको छ। वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने प्रहरी नायa उपरीक्षक केसी बताए।
लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोट लगायत स्थानबाट बुर्तिबाङ, बाग्लुङ, पोखरा, काठमाडौं लगायत स्थानमा पुग्ने यातायातका साधन सडकमै रोकिएका छन्।
पूर्वी रुकुम र निसीखोलाका विभिन्न स्थानमा यातायातका साधन सडकमै रोकिएको स्थानीय नरबहादुर क्षेत्रीले बताए। जसले गर्दा यात्रु अलपत्र छन्।
कालीगण्डकी करिडोरमा चल्ने बाग्लुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारीसाधन पनि रोकिएका छन्। सडक अवरुद्ध भएपछि दक्षिणी क्षेत्रमा सामान ढुवानी गर्न समेत समस्या भएको जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले बताए।