कञ्चनपुरमा सेप्टिक ट्यांकमा परेर जङ्गली हात्तीको मृत्यु
हात्ती बथानमा आएको हुन सक्ने र एक्लै छुट्टिएर सेप्टिक ट्यांकमा पुगी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्यांकमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताका अनुसार गएराति हात्तीको मृत्यु भएको हो।
“राति १२ बजेपछि सेप्टिक ट्यांकमा परेर जङ्गली हात्ती मृत्यु भएको देखिएको छ,” उनले भने, “अहिले प्राविधिक सहितको टोली गएर घटनास्थलमा मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ।”
जङ्गली हात्ती बथानमा आएको हुन सक्ने उल्लेख गर्दै उनले एक्लै छुट्टिएर त्यहाँ पुगेको हात्तीको मृत्यु भएको हुन सक्ने बताए। “यसबारे थप अनुसन्धान भइरहेको छ,” मेहताले भने।