खानीगाउँका अधिकांश घरको भित्री भाग चिरा पर्यो
“पहिरोको जोखिम बढेपछि वास बस्न खतरा छ। घरभित्र पसे अत्यास लाग्ने अवस्था छ,” गुरुङले भनिन्, “राति वास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ।”
गोरखाको धार्चे गाउँपालिका-७, खानीगाउँको बस्ती भएको जमीन चिराचिरा परेको छ। अहिले त्यहाँका ३२ घर पहिरोको उच्च जोखिममा छन्।
“२०७२ वैशाखमा गएको भूकम्पले खानीगाउँको जमीनमा चिरा पर्न थालेको हो,” गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले भनिन्, “केही दिनअघि परेको वर्षाले झन् जोखिमपूर्ण बनेको छ।”
वर्षाका कारण जमीन भासिंदै गएको छ भने अधिकांश घरको भित्री भागमा चिरा परेको छ। घरको जग समेत तलतल सर्दै गएको छ। घरभित्र एक बित्तासम्म चिरा परेपछि वास बस्न स्थानीय डराउने गरेका उपाध्यक्ष गुरुङले बताइन्।
“पहिरोको जोखिम बढेपछि वास बस्न खतरा छ। घरभित्र पसे अत्यास लाग्ने अवस्था छ,” गुरुङले भनिन्, “राति वास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ।”
पहिरोको त्रासले स्थानीय साँझपख छिटो छिटो घरमा खाना खाएर ओढ्ने ओछ्याउने बोकेर आफन्तकहाँ वास बस्न जाने गरेको उनको भनाइ छ।
केही परिवार भने विद्यालयमा वास बस्न थालेका छन्। बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयलाई गाउँपालिकाले आग्रह गरेको छ। -रासस