धादिङमा विद्युत्को बक्यौता उच्च, युनाइटेड सिमेन्टले मात्रै साढे २७ करोड तिर्न बाँकी
प्राधिकरणले महसूल नतिर्ने एक हजार ७४८ जनाको विद्युत् लाइन काटेर रु.चार करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए।
धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ। नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ विद्युत् महसूल उठ्न बाँकी छ।
प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेंसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र रु.२७ करोड ५९ लाख ६४ हजार महसूल तिर्न बाँकी छ।
प्राधिकरणले महसूल नतिर्ने एक हजार ७४८ जनाको विद्युत् लाइन काटेको थियो। लाइन काटेपछि रु.चार करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए।
यस्तै, १७७ ग्राहकले अझैसम्म महसूल तिरेका छैनन् भने १०३ जना उपभोक्ता प्राधिकरणको कालोसूचीमा छन्। कालोसूचीमा परेका उपभोक्ताबाट रु.३७ लाख १२ हजार असुल गर्न बाँकी छ।
धादिङ शाखाका प्रमुख न्यौपानेका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एउटा ग्राहकको रकम उठाउन ती ग्राहकको काठमाडौं र भक्तपुरमा रहेको घरमा समेत लाइन काटिएको थियो।
यस्तै, धादिङमा विद्युत् चोरीका घटना पनि गत वर्षको तुलनामा बढेको छ। चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रूख काट्ने, नाङ्गो तारलाई कालो तारमा रूपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन।
गत आवमा विद्युत् चोरी गर्ने २९४ जनालाई कारबाही गरिएको थियो। उनीहरूबाट रु.१४ लाख ८१ हजार जरिवाना असुल गरिएको उनले बताए।
गत आवमा ११ करोड २२ लाख ९१ हजार ६०९ युनिट विद्युत् बिक्री गरी रु.एक अर्ब दुई करोड महसूल सङ्कलन भएको प्राधिकरणको धादिङ शाखाले जनाएको छ। -रासस