आगजनीपीडितलाई न क्षतिपूर्ति न त न्याय
टीकापुर घटनापछि कर्फ्यूको समयमा गरिएको आगजनीमा श्रीसम्पत्ति गुमाएकाहरू न आर्थिक रूपमा उठ्न सके न त न्यायको अनुभूति गर्न पाए।
थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गयो। भोलिपल्ट कर्फ्यूकै समयमा टीकापुर बजारमा थारू समुदायका पसल र घरमा आगजनी र तोडफोड भयो।
आठ वर्षअघि आगजनीमा श्रीसम्पत्ति गुमाउनेहरू आर्थिक रूपमा झन् धस्सिएका छन्। आगजनी गर्नेलाई कारबाही नहुँदा उनीहरूले न्याय पाएको अनुभूति पनि गरेका छैनन्।
टीकापुर नगरपालिका-१, कान्छीबजारका परशुराम चौधरीको पसलमा भदौ ७ कै साँझ आगजनी भएको थियो। “आगो लगाउने समूहका मान्छे चिन्छौं, तर कसले अवाज उठाउने! केही बोल्दा फेरि केही हुने हो कि भन्ने डर लाग्छ,” परशुराम भन्छन्।
छोराका किताबकापीसँगै आठ वर्षदेखि चलाउँदै आएको पसल जलेको सम्झँदा आँखा रसाउने गरेको परशुरामकी पत्नी हिरादेवी बताउँछिन्। “प्रहरीकै आडमा ठूलो समूह आएर आगो लगाएको हो,” हिरादेवी भन्छिन्, “अनुगमन टोली आउँदा प्रहरीले घर-पसल जलेको घटनाबारे भन्न समेत दिंदैनथे।”
टीकापुर घटनापछि यस क्षेत्रका थारू अगुवालाई राजनीतिक रूपमा शक्ति आर्जन गरे। सांसददेखि मन्त्रीसम्म भए। तर, पीडित नागरिकले जीवनस्तरमा कुनै परिवर्तन महसूस गर्न पाएनन्।
हिरादेवी अहिले तरकारी पसल चलाउँछिन्। उनी नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीप्रति पनि गुनासो गर्छिन्। उनी भन्छिन्, “चुनावअघि हाम्रो पसलमा आइरहन्थिन्, टीकापुर घटना ताकाका सुखदुःखका कुराकानी गर्थिन्, अहिले फर्केर आएकी छैनन्।”
पछिल्लो संघीय निर्वाचनमा सोही ठाउँबाट जितेकी रञ्जिता अहिले संघीय सरकारमा भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री छिन्। रेशमका बुबा लालवीर पनि अहिले संघीय सांसद हुन्।
रेशम जेलबाट छुट्दा स्थानीय निकै खुशी थिए। “जेलबाट छुटेपछि रेशम हामीलाई भेट्न आउनेमा ढुक्क थियौं। स्वागतका लागि कुरेर बस्यौं,” हिरादेवी भन्छिन्, “तर चिल्लो गाडीमा आएका उनले हामीलाई झ्यालबाट चिहाएरसम्म हेरेनन्।” टीकापुर घटनामा अदालतबाट दोषी ठहरिएका रेशमलाई सरकारले पछिल्लो गणतन्त्र दिवसका अवसरमा आममाफी दिएको थियो।
उतिवेला आगजनीमा परेकाहरूको तरकारी पसल लहरै छ। सोही ठाउँमा तरकारी र खाजा-नास्ता पसल चलाउँदै आएकी पवित्रा चौधरीको गुनासो पनि उस्तै छ। रञ्जितालाई जिताउँदा आफ्ना आवाज राज्यको उपल्लो तहसम्म पुग्ने र न्याय पाउने आश्वासन दिइएकाले पसल बन्द गरेरै चुनाव प्रचारमा खटिएको उनी बताउँछिन्। पवित्रा भन्छिन्, “तर उनीहरूकै परिवारलाई मात्र न्याय भएछ, बाँकीको अवस्था उस्तै छ।”
उतिवेला कान्छी बजारमै होटल र तरकारी पसल थियो, पवित्राको। पाँच वर्ष लगाएर जोडेको त्यो सम्पत्ति छिनमै स्वाहा भयो। त्यसमाथि ऋणमा भर्खरै नयाँ घर बनाएका थिए। गरिखाने पसल नै जलेपछि आर्थिक स्थिति पूरै खस्कियो। “अझै पहिलेको अवस्थामा फर्कन सकेका छैनौं, कारोबार केही छैन,” उनी भन्छिन्, “सरकारले दुई वर्षपछि क्षतिपूर्ति दियो तर क्षतिको ५० प्रतिशत पनि पाएनौं।”
टीकापुर-१ को कान्छी बजारका ममित्रा चौधरी र उनका पति कालुराम चौधरी मिलेर दुईवटा पसल सञ्चालन गरेको थिए। कालुराम तरकारी पसल र ममित्रा खाजा नास्ता पसल चलाउथिन्। “दुवै पसलमा आगो लाग्यो, तर हामी हेरेर बस्यौं,” ममित्रा भन्छिन्, “पाँच-सात लाख बराबरको सामान आँखा अगाडि नै खरानी हुँदा समेत केही गर्न सकेनौं।”
त्यसको क्षतिपूर्तिको लागि पाँच पटक सिफारिश बुझाएको उनले सुनाइन्। छैठौं पटक सिफारिश लिएर ईलाका प्रहरी कार्यालय, टीकापुर जाँदा उल्टै धम्की आएको उनले बताइन्। त्यत्रो क्षतिको मुस्किलले एक लाख क्षतिपूर्ति पाइन्। अहिले टीकापुर-१ अस्पतालको जग्गा भाडा लिएर नास्ता पसल सञ्चालन गरिरहेकी उनी पहिलेको क्षतिबाटै उम्किन नसकेको बताउँछिन्।
अर्की स्थानीय निर्मला चौधरीका अनुसार आगजनीमा फूलबारी एफएमपछि सबैभन्दा बढी क्षति निरू ट्रेडर्समा भएको थियो। उनले आफ्नै घरमा उक्त व्यवसाय चलाउँदै आएकी थिइन्। निर्मला भन्छिन्, “चाडपर्वका लागि भनेर झारेको सामान सबै लूटपाट गरियो।”
सरकारबाट करीब ६० प्रतिशत क्षतिपूर्ति पाएपछि निर्मलाले फेरि पसल सञ्चालनमा ल्याइन्। तर, आफ्नो पसल जलाउनेलाई कारबाही हुनुपर्ने र पूरै क्षतिपूर्ति पाउनुपर्ने उनको माग छ।
घटनामै विश्राम कुस्मीको एग्रोभेट र नर्सरी पसल पनि जलाइयो। सुरक्षाकर्मीको हत्या गरेको आरोपमा उनलाई पनि पक्राउ गरियो। उनी करीब तीन वर्षपछि निर्दोष सावित भएर छुटे।
सुरक्षाकर्मी मारिएपछि थारू भएकै आधारमा थुप्रैलाई धरपकड गरिएको र कर्फ्यूको बीचमा छानीछानी घर-पसल तोडफोड गरिएको विश्रामको भनाइ छ। “हामीले कारबाहीको माग गर्दै निवेदन दियौं। तर, कसैलाई पक्राउ गर्नु त परको कुरा, अहिलेसम्म अनुसन्धान नै भएको छैन,” उनी भन्छन्। आगजनी र तोडफोडमा स्थानीयले बेहोरेको क्षतिको विवरणसम्म प्रहरीसँग छैन।
खस्किएको व्यापार
सुदूरपश्चिमकै प्रमुख व्यापारिक र पर्यटकीय नगरी टीकापुर २०३० सालमा योजनाबद्ध शहरी अवधारणा अनुरूप बनेको हो। स्थानीय अगुवा गोपाल चौधरीका अनुसार छेउका राजापुर र सत्ती बजारको रौनक हराउँदै जाँदा टीकापुरमा व्यापारिक र आर्थिक गतिविधि बढेको थियो।
यससँगै राजापुर र सत्तीका गल्ला मन्डी टीकापुर सरे। दाङ, बाँके, बर्दियादेखिका मानिस घुम्नकै लागि यहाँ आउन थाले भने किनमेलका लागि आउने भारतीयको संख्या पनि बढ्न थाल्यो। “टीकापुर घटनापछि भने यहाँको व्यापार फस्टाउन सकेन,” उनी भन्छन्।
टीकापुर-५ की विपतरानी चौधरीका अनुसार टीकापुर घटनाअघि उनको पसलबाट दैनिक एक लाख रुपैयाँबराबरको कारोबार हुन्थ्यो। “दैनिक २०-३० हजारको सामान त ब्यारेकमै जान्थ्यो,” विपतरानी भन्छिन्, “त्यस वेला बिक्री एकदमै राम्रो हुन्थ्यो।”
आगजनीमा उनको पनि पसल जल्यो। आफ्नो करीब ६ लाख रुपैयाँको सामान जले पनि क्षतिपूर्ति एक लाख मात्र पाएको गुनासो गर्छिन्। “घटनापछि धेरै व्यापारीको उठिबास भयो। यस्तोमा जसोतसो पसल फेरि शुरू गरिए पनि व्यापार पहिलाको आधा पनि छैन,” उनी भन्छिन्।
अर्की स्थानीय सुदेशनी चौधरी पनि विगत सम्झेर आँखाभरि आँसु पार्छिन्। सुदेशनीले २०५५ सालदेखि सुदेशनी फेन्सी स्टोर चलाउँदै आएकी थिइन्। व्यापार निकै चम्किएको थियो। दैनिक डेढ लाखसम्मको कारोबार हुन्थ्यो।
“५६ लाख जतिको सामान थियो, दशैंका लागि भर्खरै नयाँ सामान हालेकी थिएँ,” सुदेशनी भन्छिन्, “त्यो सबै लुटियो।” सुदेशनीका अनुसार माहोल शान्त भएपछि पसल खोलेर हेर्दा केही भेटिएन।
त्यसपछि ऋण लिएर भए पनि फेरि व्यवसाय ब्युँताउने प्रयास गरिन्। सफल नभएपछि अहिले घरमै सानो किराना पसल मात्र चलाएर बसेकी छन्।
आगजनीपछि ३६ लाख रुपैयाँ क्षतिपूर्ति पाएकोमा त्यो ब्याज तिर्नै ठिक्क भएको उनी सुनाउँछिन्। सुदेशनी भन्छिन्, “एउटा साहुको ऋण अर्कोसँग ३० प्रतिशत ब्याजमा लिएर पनि चुक्ता गरेकी छु, ५० हजार रुपैयाँ अस्ति मात्र तिरें, अझै एक जनालाई ५० हजार रुपैयाँ दिन बाँकी छ।”