ज्याला बढाउन माग गर्दै चिया मजदूर सडकमा
ज्याला बढाउन माग गर्दै झापाका चिया बगानमा काम गर्ने मजदूर आन्दोलनमा उत्रिएका छन्।
कल्पना खड्काले झापाको बुट्टाबारीस्थित चिया बगानमा काम गर्न थालेको साढे तीन दशक भयो। दैनिक सात रुपैयाँमा काम शुरू गरेकी खड्काको ज्याला अहिले ४३५ रुपैयाँ पुगेको छ।
सरकारी जागीर हुन्थ्यो भने पेन्सनपट्टा र केही सुविधा बोकेर घर फर्किसकेकी हुन्थिन्। “मैले ११ वर्षको उमेरबाट चिया बगानमा गोडमेलको काम थालेकी थिएँ। अहिले ४८ वर्षकी भएँ, बगानमा चिया टिप्दै आएकी छु,” खड्का भन्छिन्, “सेवासुविधा भने चार दशकअघिकै जस्तो छ। बिहान–बेलुका हातमुख जोर्नै समस्या छ।”
अर्का चिया मजदूर देवीप्रसाद खनालले २०५५ सालबाट चिया बगानमा काम थालेका थिए। त्यति वेला र अहिलेको अवस्थामा खासै परिवर्तन नरहेको खनाल बताउँछन्। “२०५५ सालमा ३४ रुपैयाँबाट चिया बगानमा काम गर्न थालेको थिएँ। त्यति वेला न स्वास्थ्य उपकरण दिइन्थ्यो न त गमबूट नै,” उनी भन्छन्, “त्यो अवस्था अहिले पनि बेहोर्दै आएका छौं।”
चिया बगानमा स्वास्थ्य सुविधा र कामका लागि औजार साहु वा स्थानीय सरकारलाई मन लाग्दा मात्रै पाइने गरेको उनी सुनाउँछन्। “श्रम ऐनमा व्यवस्था गरिए बमोजिम ज्याला वृद्धि पनि साहु र सरकारलाई मन लाग्दा मात्रै पाइने भयो,” खनाल भन्छन्।
तीन वर्षदेखि ज्याला वृद्धि नभएको अखिल नेपाल चिया मजदूर संघ अध्यक्ष सीता सापकोटा बताउँछिन्। “श्रम ऐन, २०७४ ले मजदूरको ज्याला प्रत्येक दुई वर्षमा वृद्धि हुनुपर्ने व्यवस्था गरेको छ तर हामी तीन वर्षदेखि एउटै ज्यालामा काम गर्दै आएका छौं,” सापकोटा भन्छिन्, “सरकार मजदूरको ज्याला वृद्धि गर्नुको सट्टा बगान मालिकको पक्षमा लागेको छ।”
चिया बगानमा काम गर्दै आएका श्रमिकको ज्याला अन्तिम पटक २०७७ सालमा बढेको थियो। त्यति वेला दैनिक ४३५ रुपैयाँ तोकिएको थियो। त्यसयता ज्याला बढेको छैन।
श्रम ऐन अनुसार ज्याला वृद्धिको माग गर्दै एक महीनादेखि चिया बगानका मजदूर आन्दोलनमा छन्। ज्याला वृद्धि हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्ने, पत्ती ठेक्का दरमा वृद्धि हुनुपर्ने र रोजगार सम्झौता गरेर मात्रै श्रमिकलाई काममा लगाउनुपर्ने लगायत माग राखेका छन्।
असार ३१ गतेदेखि आन्दोलनमा रहेका उनीहरू अब बगान नै ठप्प पार्ने स्थिति आएको बताउँछन्। यस विषयमा पटक पटक सरकारसँग माग राखेको भए पनि वास्ता नगरिएको श्रमिकको गुनासो छ।
चिया बगानका मालिक तथा चिया उद्यमी भने श्रम ऐन अनुसार ज्याला बढाइएमा बगान घाटामा जाने सुनाउँछन्। नेपाल चिया उत्पादक संघका सदस्य रमेश पराजुली श्रम ऐन अनुसार ज्याला वृद्धि र सामाजिक सुरक्षा कोषमा जाँदा त्यसको व्यापार घाटा उद्यमीले थेग्न नसक्ने बताउँछन्।
चिया मजदूरहरू दैनिक ज्याला कम्तीमा ८७ रुपैयाँ बढ्नुपर्ने माग गरिरहेका छन् भने उद्यमीहरू दैनिक ३० रुपैयाँभन्दा बढी वृद्धि गर्न नसकिने अडानमा छन्। माग पूरा नहुँदा मजदूरहरू बगानको गेटमा कालो झन्डा राखेर प्रदर्शन गर्दै आएका छन्।
सरकार र चिया बगान मालिकले बेवास्ता गरेपछि उनीहरूले राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारेका छन्। आयोगको टोलीले उनीहरूसँग छलफल गरेर माग सम्बोधन हुनुपर्ने बताएका छन्। एक महीनादेखि आन्दोलनमा रहेका उनीहरूले अब चिया बगान नै ठप्प पार्ने चेतावनी दिएका छन्।