‘सोचे झैं छैन रूसी सेनामा, भर्तीबारे सोच्दै नसोचौं’
नेपाल सरकारले पनि रूसी सेनामा जानु उचित छैन भनेर व्यापक प्रचारप्रसार गर्नुपर्छ। वैदेशिक रोजगार कम्पनीको कुरामा लागेर ज्यान फाल्न जाने काम कसैले पनि नगर्नुहोला।
रूसको राजधानी मस्कोबाट असार अन्तिम साता काठमाडौं आइपुगेको हुँ। त्यहाँ म रसियन भाषा सिकिरहेको थिएँ। यहाँ आउँदा नेपाली युवाहरू रूसी सेनामा जान निकै उत्साहित भएको पाएँ। तर, त्यहाँको अवस्था हाम्रा युवाले सोचे जस्तो उत्साहजनक छैन।
छिमेकी देश युक्रेनसँग युद्ध लडिरहेको रूसले नेपाली युवालाई सेनाको सहयोगीका रूपमा लिने गरेको छ। त्यो एक किसिमले स्वयंसेवी सेना (भोलिन्टियर आर्मी) जस्तो हो। ६५ वर्ष उमेर पुगेकालाई पनि सेनामा लिइएको छ।
रूसी सेनामा गए मासिक पाँच लाख तलब पाइन्छ भनेर वैदेशिक रोजगारमा पठाउने कम्पनीहरूले बताउने गरेका छन्। तर, त्यो साँचो होइन। सबै जोड्दा दुई लाख ३५ हजार रुपैयाँ जति पाउँछन्। तलब ब्यांक खातामा जाने भएकाले निकालेर खर्च गर्न सकिंदैन। लडाइँको मैदानमा मोबाइल फोन लगायत सम्पर्कका कुनै पनि साधन प्रयोग गर्न पाइँदैन।
मैले चिनेजानेका १८ जना जति साथी छन्। कतिपयले रूसी सेनामा गएर नेपालको नाम चम्काउँछु भनेको पनि सुनेंं। टिकटकमा पनि ‘गोर्खाज् इन रसियन आर्मी’ भनेको सुनिन्छ।
बिर्सनै नहुने के हो भने रूसी सेनामा जानु भनेको भारतीय वा बेलायती सेनामा गए जस्तो होइन। भारत र बेलायती सेनामा जानेहरू नेपाल सरकारले विगतमा गरेको सम्झौता अनुसार भर्ती भएका हुन्। रूसी सेनामा जो गइरहेका छन् उनीहरू नेपाल सरकारको अनुमति विना लुकीलुकी गएका हुन्।
‘भोलिन्टियर आर्मी’ लाई लडाइँमा जानुअघि तीन महीना तालीम दिने भनिएको थियो। पछि एक महीना भनियो। अहिले जम्मा १०-१५ दिन तालीम दिएर लड्न पठाइन्छ। त्यति छोटो अवधिमा बन्दूक पनि राम्रोसँग चलाउन जानिंदैन। आधारभूत सैन्य तालीम विना नै मस्कोबाट ५-६ घण्टाको उडानमा युक्रेनतर्फ लगिन्छ।
काठमाडौं आएपछि मैले ‘नेपालीहरू रूसी सेनामा’ भनेर टिकटकमा हालिएका भिडिओहरू हेरें। ती भिडिओ लडाइँमा जानुअघि १०-१५ दिन ब्यारेकमा राख्दाको वेलाको हो। लडाइँमा गइसकेपछि त परिवारका सदस्यसँग सम्पर्क समेत गर्न पाउँदैनन्। ड्रोनले सङ्केत पत्ता लगाउँछ भनेर मोबाइल बोक्न निषेध गरिएको छ।
भोलिन्टियर आर्मी बन्नुअघि दुई वटा सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाउँछन्। पहिलो सम्झौतामा हस्ताक्षर गरेपछि नै तलब आउन थाल्छ। दोस्रोमा हस्ताक्षर गरिसकेपछि भने जागीर छोडेर आउन पाउँदैनन्। त्यहाँ गइसकेपछि निस्कन असम्भवप्रायः छ। भविष्यमा नेपाल सरकारले नै पहल गरेमा फर्कन सकिएला, अहिलेको अवस्थामा फर्कने सम्भावना छैन।
त्यहाँ गइसकेपछि अर्को देश जान्छु वा नेपाल फर्कन्छु भन्ने नसोचे पनि हुन्छ। भागेर जान खोज्नेहरूलाई निर्घात कुट्छन्। बेलारूस, फिनल्यान्ड सीमातिर पुगेका नेपालीहरूलाई पिटेर मस्कोमै फिर्ता पठाइन्छ।
रूसी सेनामा गएका नेपाली युवाहरू कोही पनि खुशी छैनन्। कतिपय युवा युद्धमा घाइते छन्। कतिको ज्यान गयो यकीन छैन। युद्ध मैदानमा बम खसेर पूरै आकाश रातो हुन्छ। कतिखेर कहाँ हमला हुन्छ अनुमान गर्नै सकिंदैन। कति युवा रोइरहेका थिए। नेपाल सरकारलाई भनेर हामीलाई यहाँबाट निकाल्नुपर्यो भनिरहेका थिए। त्यहाँ गएकामध्ये कतिपयका आफन्तले मलाई सम्पर्क गरिरहेका हुन्छन्। तर, उनीहरूले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्न सकिरहेका छैनन्।
रूसी सेनामा गएर फसेका युवाहरूलाई निकाल्न सरकारले पहल गरिदिए हुन्थ्यो। त्यहाँ जान आकर्षित युवाहरूमा त्यस्तो सोचाइको भूत उत्रिए हुन्थ्यो। सोचे झैं छैन रूसी आर्मी। किनकि त्यहाँ गएका नेपाली युवाहरूको अवस्था खराब छ। अभिभावकलाई मेरो आग्रह छ- आफ्ना सन्तानलाई रूसी सेनामा पठाउने कामै नगर्नुहोस्।
कतिपयले रूसी सेनामा जाँदा ६ महीनापछि स्थायी बसोबास अनुमति (पीआर)का लागि आवेदन दिन पाउने बताइरहेका छन्। तर, अहिलेसम्म कुनै पनि नेपालीले त्यसरी पीआर लिएको जानकारी छैन। अहिलेसम्म त्यो भन्ने कुरा मात्रै हो। फेरि, पछि पीआर दिने नै रैछ भने ज्यानै नरहे त्यसको के अर्थ?
नेपाल सरकारले पनि रूसी सेनामा जानु उचित छैन भनेर व्यापक प्रचारप्रसार गर्नुपर्छ। वैदेशिक रोजगार कम्पनीको कुरामा लागेर ज्यान फाल्न जाने काम कसैले पनि नगर्नुहोला।
(लेखकको आग्रहमा परिचय गोप्य राखिएको। -सं.)