एकै ठाउँमा ठोक्किए आठ वटा सवारीसाधन
चितवनको भरतपुर महानगरपालिका-९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेज गैंडाकोटको बस विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोसँग ठोक्किएको थियो।
त्यसैमा पाँच वटा मोटरसाइकल र दुई वटा स्कूटर ठोक्किएका छन्। बा प्र ०६-००१ प ९९८१, बा प्र ०३-००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३-००१ प ४१४७ नम्बरको मोटरसाइकल र बा प्र ०६-००१ प २२९४ र बा प्र ०३-००२ प ४१९८ नम्बरको स्कूटर ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर छ। अन्यको अवस्था सामान्य रहेको पण्डितले बताए।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य सवारीसाधन घटनास्थलमै छन्।