संसद्को गतिरोध हटाउन पहल गर्ने गठबन्धनको निर्णय
सत्तारूढ गठबन्धनको बैठकले संसद्को अवरोध हटाउन पहल गर्ने निर्णय गरेको छ।
यसका लागि गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग संवाद गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले संसद्को गतिरोध खुलाउने विभिन्न विकल्पमा छलफल गरेको छ।
बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको जनाएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेले माग गर्दै आएको छ। सरकारले भने उच्चस्तीय समिति गठन गर्न अस्वीकार गर्दै आएको छ। जसले गर्दा संसद्को बैठक अवरुद्ध हुँदै आएको छ।