८० वर्षमा कक्षा १२ उत्तीर्ण, आँखाले साथ दिए स्नातक पढ्ने रहर
“यतिसम्म त आइपुगें। ८० पनि लागियो। अब डाक्टर त के भइएला! तर, पढने इच्छा त छँदै छ। कक्षा १२ माथि पनि पढ्छु,” उनी भन्छिन्।
“सबै मानिस रिसाए पनि पुस्तक कहिल्यै रिसाएन। कोही नबोले पनि किताब सधैंभरि बोल्दो रहेछ।”
दुई वर्षअघि हिमालखबरसँग रत्नकुमारी सुनुवारले यसरी आफ्नो पुस्तकमोह व्यक्त गरेकी थिइन्। ८० वर्षीया रत्नकुमारी त्यस वेला काठमाडौंको बानेश्वर बहुमुखी क्याम्पसमा भर्खर कक्षा ११ मा भर्ना भएकी थिइन्।
बुढ्यौलीको पुरातन व्याख्यालाई चिर्दै उनले उच्च शिक्षा पूरा गर्ने दृढ लक्ष्य लिएकी थिइन्। एसईईमा २.६५ जीपीए ल्याएकी उनले भनेकी थिइन्, “कतिसम्म पढ्न सक्छु थाहा छैन। तर, पढेर डाक्टर हुने धोको छ।”
उनको डाक्टर बन्ने इच्छा सफल होला/नहोला यो त भविष्यको गर्भमै छ। केही समयदेखि आँखामा समस्या भएकाले डाक्टर बन्ने सपना पूरा नहुने हो कि भन्ने संशय उनमा पनि छ।
तर, उनले यसै वर्ष २.६४ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरिन्। “यतिसम्म त आइपुगें। ८० पनि लागियो। अब डाक्टर त के भइएला! तर, पढने इच्छा त छँदै छ। कक्षा १२ माथि पनि पढ्छु,” उनी भन्छिन्।
काठमाडौं कोटेश्वरमा श्रीमान्, छोराबुहारी र नातिसँग बस्दै आएकी रत्नकुमारी अब कलेज नियमित धाउन नसक्ने बताउँछिन्। उनी घरमै बसेर पढाइ अघि बढाउने चाहन्छिन्। “सबैले बुढेसकालको नचाहिने रहर भनिरहँदा बुहारी, कलेजका साथीहरूले, सरहरूले कहिल्यै नराम्रो भनेनन्। सबैलाई धन्यवाद छ,” उनी भन्छिन्।
रामेछापमा जन्मिएकी रत्नकुमारी बाल्यकालमा विद्यालय जान पाइनन्। त्यही अभावलाई पूर्ति गर्न ७० वर्ष भएपछि उनले प्रौढ शिक्षा लिन थालेकी थिइन्। कोटेश्वरमा ६ महीना प्रौढ शिक्षा पढेपछि रत्नकुमारी अक्षर र अङ्क छुट्याउन, पत्रपत्रिका पढ्न र आफ्नो नाम लेख्न सक्ने भइन्। त्यसपछि विद्यालय भर्ना हुनुअघि तयारी गर्न कोटेश्वरको सूर्य क्लबमा भर्ना भइन्।
रत्नकुमारी ६ वर्षसम्म सूर्य क्लबको अध्ययन केन्द्र धाइन्। उनको मेहनत देखेर आफन्त र छरछिमेक छक्क पर्थे। कतिले चाहिं ‘नमच्चिने पिङको सय झट्का’ भनेर दुर्वचन लगाउँथे। तर, उनले वास्ता गरिनन्।
२०७४ सालमा उनी उत्प्रेरणा महिला माध्यमिक विद्यालय तीनकुनेमा कक्षा ६ मा भर्ना भइन्। घुँडाको समस्या भएकाले दैनिक विद्यालय धाउन नसकेपछि घरमै स्वाध्ययन थालिन्। सोही विद्यालयबाट २०७८ मा एसईई दिइन् र उत्तीर्ण भइन्।
त्यसपछि उनको अध्ययनको भोक अझै बढ्यो। ‘छोरीलाई पढाए पोइल जान्छन्’ भन्ने समाजको कारण पढ्न नपाएकी रत्नकुमारीले अहिले कक्षा १२ उत्तीर्ण गरिन्।
उनकी बुहारी पारु सुनुवार सासूले पढ्न चाहे जति कक्षासम्म पनि पढाउने बताउँछिन्। तर, अहिले डाक्टरले पनि आँखाको अपरेशन गर्न र आराम गर्न सल्लाह दिएको बताउँदै उनी भन्छिन्, “अब शिक्षा संकायमा भर्ना चाहिं गरिदिएर पुस्तकहरू ल्याउँछौं। तर, आमाले पनि आफ्नो इच्छा जे राख्नुहुन्छ त्यही गर्छौं।”
रत्नकुमारी भने अहिलेसम्मको अध्ययन र अनुभवले धेरै खुशी भएको बताउँदै शिक्षकको सल्लाह अनुसार अघि बढ्ने बताउँछिन्। भन्छिन्, “केही बेर पुस्तक हेर्दा आँखा बिझाउँछ। नत्र त पढन मन कति कति। १२ माथिको पढाइ पनि सक्न पाउँदा हुन्थ्यो भन्ने छ।”