नेयमार अल हिलालमा अनुबन्ध
पीएसजीलाई पाँच वटा लिग वानको उपाधि जिताएका नेयमार वार्षिक १०२ मिलियन अमेरिकी डलर पारिश्रमिक पाउने गरी साउदी अरेबियन क्लब अल हिलालमा अनुबन्ध भएका छन्।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा ६ सिजन बिताएका ब्राजिलियन अग्रपंक्तिका खेलाडी नेयमार जुनियर साउदी अरेबियन क्लब अल हिलालमा अनुबन्ध भएका छन्। ३१ वर्षीय नेयमारले अल हिलालसँग सन् २०२५ सम्मको दुईवर्षे सम्झौता गरेका छन्।
नेयमारका लागि अल हिलालले पीएसजीलाई ९८.२४ मिलियन अमेरिकी डलर (९० मिलियन यूरो) ‘ट्रान्सफर फी’ तिरेको बताइएको छ। दी एथलेटिकका अनुसार अल हिलालमा नेयमारले वार्षिक १०२ मिलियन अमेरिकी डलर पारिश्रमिक पाउनेछन्।
पीएसजीबाट नेयमारले १७३ खेल खेले। जसमा उनले ११८ गोल र ७० असिस्ट गरे। उनी सन् २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन यूरोको कीर्तिमानी मूल्यमा पीएसजीमा आबद्ध भएका थिए। पीएसजीका लागि उनले पाँच लिग वानको उपाधि जिते।
यद्यपि नेयमारले पीएसजीलाई च्याम्पियन्स लिग भने जिताउन सकेनन्। सन् २०२० मा फाइनलमा पुगे पनि पीएसजी बायर्न म्युनिखसँग हार्यो।
“मैले यूरोपमा धेरै उपलब्धि हासिल गरें र विशेष समय बिताएँ। तर, मैले सधैं विश्वव्यापी खेलाडी बन्न चाहेको छु र नयाँ ठाउँमा नयाँ चुनौती तथा अवसरमा आफूलाई परख गर्न चाहेको छु,” सम्झौतामा हस्ताक्षर गरेपछि नेयमारले भने।
यता, साउदी अरेबियन क्लब अल हिलाल साउदीका साथै एशियाकै सर्वाधिक सफल फूटबल क्लब हो। यसले ६६ वटा उपाधि जितेको छ। गत शनिबार सम्पन्न अरब क्लब च्याम्पियन्स कपको फाइनलमा भने अल हिलाल २-१ गोल अन्तरले अल नासरसँग पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो।
अल हिलालले मोरक्कोका गोलरक्षक यासिन बूनोलाई अनुबन्ध गर्न पनि संवाद अघि बढाएको छ। बूनोले गत वर्ष सम्पन्न विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। यसअघि अल हिलालले अर्जेन्टिनी विश्वप्रसिद्ध खेलाडी लियोनल मेस्सीलाई हालसम्मकै कीर्तिमानी मूल्य प्रस्ताव गरे पनि उनी अमेरिकी मेजर लिग सकरको क्लब इन्टर मियामीमा अनुबन्धित भए।