इन्टर मियामी फाइनलमा, मेस्सीको उत्कृष्ट ‘लङ रेन्ज’ गोल
मेस्सीले क्लब फूटबलमा सन् २०१२ मा बार्सिलोनाका लागि मायोर्का विरुद्ध ३८.८ यार्ड परबाट फ्रीकिक गोल गरेका थिए। आजको खेलमा उनले ३६.३ यार्ड परबाट दोस्रो सर्वाधिक लङ रेन्ज गोल गरे।
जारी लिग्स कप अन्तर्गत आज बिहान सम्पन्न सेमिफाइनल खेलमा इन्टर मियामी विजयी भएको छ। फिलाडेल्फिया युनियनलाई ४-१ गोल अन्तरले हराउँदै इन्टर मियामी फाइनलमा पुगेको छ।
मियामीका लागि जोसेफ मार्टिनेजले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेका थिए। अर्थात्, मियामीले यो प्रतियोगितामा हालसम्मका सबै खेलमा शुरूआती अग्रता बनायो।
यस्तै, दोस्रो गोल मियामीका कप्तान लियोनल मेस्सीले गरे। २०औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै टीमलाई थप अग्रता दिलाए।
मेस्सीले ३६.३ यार्ड परबाट ‘लङ रेन्ज’ गोल गरेका थिए। क्लब फूटबलमा सन् २०१२ यताको यो उनको सर्वाधिक दोस्रो लङ रेन्ज गोल हो। सन् २०१२ मा बार्सिलोनाका लागि मायोर्का विरुद्ध उनले ३८.८ यार्डबाट फ्रीकिक गोल गरेका थिए।
मेस्सी यो प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि हुन्। उनले ६ खेलमा नौ गोल गरिसकेका छन्। आजको खेलमा पनि मेस्सी ‘म्यान अफ द म्याच’ भए।
मियामीका लागि तेस्रो गोल जोर्डी अल्बाले गरे। पहिलो हाफको इन्जुरी समयमा अल्बाले गोल गरेसँगै पहिलो हाफमा मियामी ३-० को अवस्थामा थियो।
त्यसपछि खेलको ७३औं मिनेटमा फिलाडेल्फियाका लागि अलेजान्ड्रो बेडोयाले गोल गर्दै टीमलाई ३-१ को स्थितिमा पुर्याए। तर, मियामीका लागि डेविड रुइजले ८४औं मिनेटमा गोल गर्दै ४-१ को जित दिलाए।
यो जितसँगै मियामी सन् २०२४ मा हुने कोनकाकाफ च्याम्पियन्स कपमा छनोट भएको छ।
अहिले लिग्स कपमा मोन्टेर्रे र न्याशभिलबीच खेल भइरहेको छ। यस खेलको विजेता विरुद्ध मियामीले फाइनलमा उपाधिका लागि भिड्नेछ।