बदलिएको मनसुन: कतै खडेरी, कतै अतिवृष्टि
देशका अधिकांश भागमा कम वर्षा हुँदा प्रमुख कृषि बाली धानको रोपाइँ ढिलो भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा धेरै पानी पर्दा बाढीले क्षति पुर्याएको छ।
यो वर्षको मनसुन मध्य अवधिमा पुग्दा मौसममा अनियमित प्रवृत्ति देखापरेको छ। गत जुलाई महीना (१६ असार–१५ साउन) मा कतै खडेरी त कतै अतिवृष्टि भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जुलाईमा अधिकतम र न्यूनतम तापक्रम पनि औसतभन्दा बढी भएको विभागको तथ्यांक छ।
मधेसको अधिकांश भूभाग, बागमती, लुम्बिनी, कर्णाली प्रदेशमा जुलाई महीनामा औसतभन्दा कम पानी पर्यो। त्यसैगरी, कोशीको पूर्वी र मध्य भाग, गण्डकी र सुदुरपश्चिमको केही क्षेत्रमा पनि सरदरभन्दा थोरै मात्रै पानी परेको विभागले जनाएको छ। गण्डकी र सुदुरपश्चिमको अधिकांश भूभागमा भने सामान्य र कतिपय स्थानमा सामान्यभन्दा बढी पानी पर्यो।
देशभरिका २० मुख्य मौसम स्टेशनले रेकर्ड गरेको वर्षाको तथ्यांकअनुसार, जुलाई महीनामा औसतको तुलनामा ८४.२ प्रतिशत मात्रै पानी पर्यो। जुलाईमा सरदरमा चार सय ८३.५ मिलिमिटर पानी पर्ने भए पनि यो वर्ष चार सय सात मिलिमिटर मात्रै पानी परेको छ। खासगरी, जुलाईको चौथो साता पानी निकै थोरै परेको हो। यो तथ्यांकले धान रोप्ने मुख्य समयमा पानी नपरेको जनाउँछ।
मनसुन वर्षिने मध्ये करीब एक तिहाई पानी जुलाई महीनामा पर्छ। नेपालमा मनसुन अवधिमा औसतमा एक हजार ४७२ मिलिमिटर पानी पर्ने गरेको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ।
विभागका अनुसार, मधेसको अधिकांश भूभाग, कोशीको पूर्वी भाग, कर्णालीको दक्षिणी भाग तथा बागमती र लुम्बिनीका केही क्षेत्रमा मध्यमदेखि अत्याधिक खडेरीको अवस्था देखिएको छ। मन्थली, जलेश्वर र जनकपुर स्टेशनको वर्षा मापन आंकडाले ती क्षेत्रमा सरदरका तुलनामा जुलाई महीनामा ७० प्रतिशतले पानी कम परेको देखाएको छ। यसले ती क्षेत्रमा चरम खडेरीको अवस्था बुझाउँछ। नेपालगन्ज, वीरगन्ज, लहान, धनकुटा तथा गौर क्षेत्रमा पनि औसतका तुलनामा आधा मात्रै पानी परेकाले गम्भीर खालको खडेरी देखापरेको छ।
गौरमा जुलाई महीनाभरिमा सात दिन मात्रै पानी पर्यो। जलेश्वरमा आठ दिन र जनकपुरमा १० दिन मात्रै पानी पर्यो। यो वर्ष विभागले एल निनो प्रभावका कारण वर्षायाममा औसतभन्दा कम पानी पर्ने अनुमान गरेको थियो।
तर, उच्च हिमाली क्षेत्रमा भने औसतभन्दा बढी पानी परेको छ। जोमसोम, लेते (मुस्ताङ) मा भने औसतका तुलनामा क्रमश: १५५ र १३७.८ प्रतिशत बढी पानी पर्यो। मुस्ताङको कागखोलामा आएको बाढीले कागबेनी बजारमा सोमबार २९ वटा घर बगाएको छ। पछिल्ला वर्षहरुमा उच्च हिमाली क्षेत्रमा बढी वर्षा हुन थालेको देखिएको विभागको जलवायु विश्लेषण शाखाकी सिनियर डिभिजनल मेटिओरोलोजिस्ट विभूति पोखरेलले बताइन्।
देशका अधिकांश भागमा मनसुनी वर्षा कमजोर हुँदा यो वर्ष प्रमुख कृषि बाली धानको रोपाई धेरै नै ढिला हुनपुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, धान रोपाईको मौसम सकिन लाग्दा समेत झण्डै २ लाख हेक्टर खेतमा अझै रोपाई हुन सकेको छैन। २६ साउनसम्ममा देशका ८७ प्रतिशत खेतमा मात्रै रोपाई सकिएको छ। गत वर्ष यही अवधिमा २८ साउनसम्ममा ९४ प्रतिशत खेतमा रोपाई सकिएको थियो। सामान्यतया: साउन मसान्तसम्म धान रोपाई हुन्छ।
देशको कुल धान उत्पादनको एक चौथाई हिस्सा ओगट्ने मधेस प्रदेशका एक तिहाई खेतमा अझै धान रोपाई सकिएको छैन। पानी कम पर्दा मधेसका ३२ प्रतिशत खेत अझै बाँझै छ। यो वर्ष कोशीको ६ प्रतिशत, बागमतीको १२ प्रतिशत, गण्डकी र लुम्बिनीको ७–७ प्रतिशत खेतमा अझै रोपाई सकिएको छैन। कर्णाली र सुदुरपश्चिमका अधिकांश खेतमा भने रोपाई सकिएको छ।
विभागका अनुसार, देशका अधिकांश भागमा जुलाई महिनामा औसतभन्दा बढी गर्मी अनुभव भएको छ। देशका अधिकांश भागमा अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी देखिएको हो। गोरखा, गुलरिया र जाजरकोट मौसम स्टेशनमा रेकर्ड भएको अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ। यी स्टेशनमा जुलाई महीनामा यो वर्ष रेकर्ड भएजति अधिकतम तापक्रम यसअघि यही महीनामा कहिल्यै पनि रेकर्ड भएको थिएन। गोरखामा जुलाईमा अधिकतम तापक्रम ३५.५ डिग्री सेल्सियस, गुलरियामा ३९.५ डिग्री सेल्सियस र जाजरकोटमा ३५.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।