बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम, तीन दिनभित्र गुणस्तर परीक्षण गरिने
त्रिभुवन विमानस्थलबाट बाहिरिंदै गर्दा राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामंगल क्षेत्रबाट बरामद गरेको सुनको तौल ६० किलो ७१६ ग्राम कायम भएको छ।
भन्सार छली अवैध रूपमा नेपाल भित्रिएको सुन शुरूमा बरामद गरिएको सामान सहित १५५ किलो ४६८ ग्राम थियो।
हिजो नेपाल राष्ट्र ब्यांक अन्तर्गतको टक्सार महाशाखाले ब्रेक शू, प्याकेजिङ कार्टून लगायत छुट्याएपछि सुनको तौल ६० किलो ७८९ ग्राम कायम भएको थियो। तर, आज उक्त सुन गाल्दा ७३ ग्राम जर्ती काटिएपछि वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको ‘पार्टस्’ ब्रेक शूभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थलबाट बाहिरिंदै गर्दा राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो।
“हामीले बरामद सुन आज गालिसकेपछि धेरै ठूलो जर्ती गएन। वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको छ,” उनले भने, “सामान्य रूपले हेर्दा राम्रो गुणस्तरकै सुन जस्तो देखिन्छ। तर, वास्तविक गुणस्तर परीक्षण तीन दिनभित्र गरिसक्छौं।”
राष्ट्र ब्यांकले सुन गालिसके पनि यो प्रकरणको छानबिन भने सकिसकेको छैन। गालिसकेको सुन अब के हुन्छ भन्ने विषयमा सरकारले नै निर्णय लिने आचार्यको भनाइ छ। सामान्यतः बरामद सुनको तौल र गुणस्तर परीक्षणपछि अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशत थप रकम तिरेर सरकारसँग राष्ट्र ब्यांकले किन्ने गरेको छ।
सुन तस्करी सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। -रासस