भूमि व्यवस्था मन्त्रीको आडमा श्रम शोषण: ज्याला नदिई मुक्त कमैयाको प्रयोग
संघ सरकारका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठका श्रीमान् हुन् रेशम चौधरी। यही कारण मुक्त कमैया परिवार वर्षौंदेखि बसोबास गर्दै आएको जमीनको लालपुर्जा गुम्ने त्रासले श्रमदान गर्न बाध्य भएका हुन्।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कैलालीको टीकापुर-१ मा पार्टीका लागि भन्दै भवन निर्माण गराइरहेका छन्। रेशमले उक्त भवन निर्माण कार्यमा मुक्त कमैया शिविरमा बसोबास गर्नेहरूलाई खटाएका छन्।
तर, ज्याला वा पारिश्रमिक दिने गरी नभई उनले जमीनको लालपुर्जा उपलब्ध गराउने आश्वासनमा शिविरमा बस्दै आएका मुक्त कमैयालाई बाध्यकारी श्रमदानमा खटाएको खुलासा भएको छ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ संघ सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री छिन्। रेशम चौधरी उनका श्रीमान् हुन्। यही कारण मुक्त कमैया परिवार वर्षौंदेखि बसोबास गर्दै आएको जमीनको लालपुर्जा गुम्ने त्रासले श्रमदान गर्न बाध्य भएका हुन्।
टीकापुर-१, शक्तिनगर मुक्तकमैया शिविरमा बस्दै आएकी सीतादेवी चौधरीका अनुसार रेशमले प्रतिघर एक जनाले अनिवार्य श्रमदान गर्नुपर्ने नियम लगाएका छन्। श्रमदान नगर्नेहरूले बसोबास गर्दै आएको जमीनको लाजपुर्जा नपाउने भनेका छन्।
शिविरमा अहिले ४०८ घर छन्। यी घरधुरीलाई १५ वटा टोलमा विभाजन गरिएको छ। यीमध्ये अधिकांश घरपरिवारले श्रमदान गरेका छन्।
“हाम्रो शिविरमा एकदेखि १५ नम्बरसम्म टोलको नाम छुट्याएका छौं। म पाँच नम्बरमा पर्छु। प्रत्येक टोलबाट घर निर्माणमा श्रमदानका लागि तीन-तीन दिनको पालो थियो, मैले पनि तीन दिन श्रमदान गरें,” सीतादेवी भन्छिन्।
शिविरमा बस्नेहरूमध्ये अधिकांशले एक दिन मजदूरी गरेनन् भने पनि उनीहरूको घरमा चुलो बल्न मुश्किल हुन्छ। तर, रेशम चौधरीले तीन-तीन दिनसम्म निःशुल्क काममा लगाउँदा मुक्त कमैया परिवारलाई निकै दुःख भएको सीता बताउँछिन्।
“मलाई पनि धेरै दुःख लाग्यो। तीन दिनसम्म निःशुल्क काम गरें। अन्तै काम गरेको भए दुई हजार, २५ सय रुपैयाँ कमाउँथें। तर, के गर्नु, श्रमदान गर्न नगए उल्टै प्रतिदिन ५०० रुपैयाँ जरिवाना तिर्नुपर्छ,” उनी भन्छिन्।
सीताका अनुसार गाउँको भलमन्सा (मुखिया)ले रेशम चौधरीको घर निर्माण गर्नुपर्ने जानकारी दिएपछि उनीहरू श्रमदान गर्न बाध्य भएका हुन्। आफूहरू बिहानै खाना खाएर काम गर्न जाने र दिउँसो र साँझको खाजा र खानाको व्यवस्था भने रेशमले नै गरेको उनी बताउँछिन्।
गाउँका धेरै परिवार श्रमदान गर्न नगएको पनि उनले बताइन्। तर, श्रमदान नगर्नेहरूले प्रतिदिन ५०० रुपैयाँ जरिवाना तिरेको सीताले सुनाउँछिन्। “रेशमले हामी जस्तो गरीब परिवारलाई श्रमदान गर्न लगाउनु सरासर गलत हो। तर, जरिवाना तिर्नुपर्ने डरले श्रमदान गर्न बाध्य भयौं,” सीता भन्छिन्।
शक्तिनगर मुक्त कमैया शिविरपछि अब श्रमदान गर्ने पालो शिवनगर मुक्त कमैया शिविर र विजयनगर मुक्त कमैया शिविरको रहेको सीता बताउँछिन्। श्रमदान गर्नेहरू पनि प्रायः महिलाहरू रहेको जानकारी दिंदै उनी भन्छिन्, “पुरुषहरू मजदूरी गर्न भारततिर छन्, त्यसैले प्रायः महिला थिए।”
श्रमदान गर्ने र नगर्नेबीच गाउँमा ठूलो झगडा भएको पनि सीताले बताउँछिन्।
रेशम चौधरीले यही साउन ४ गतेदेखि घर निर्माण गर्न लागेको भनी सामाजिक सञ्जालमा फोटो समेत राखेका छन्। उनले पार्टीको घर निर्माण गर्न लागेको र श्रमदान गर्न चाहनेले स्वैच्छिक रूपले श्रमदान गरिदिन अनुरोध गरेका छन्।