विद्यालय हिंडेका तीन बालिका बेपत्ता
राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा पनि गरेका थिए। तर, उनीहरू कहाँ र कस्तो अवस्थामा रहेको भन्ने जानकारी नभएको परिवारले बताएको छ।
पोखराबाट तीन जना बालिका बेपत्ता भएका छन्। घरबाट विद्यालयतर्फ हिंडेका पोखरा महानगरपालिका-२ विन्ध्यवासिनी बस्ने १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार गत साउन १९ गते बेपत्ता भएका हुन्।
तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएका छन्।
“आफन्त, इष्टमित्र समेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाऊँ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी कार्यलाई तीव्र बनाएका छौं,” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने।
बेपत्ता बालिकाका आफन्तका अनुसार बालिकाहरू त्यस दिन विद्यालय समेत पुगेका थिएनन्। राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए।
राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा पनि गरेका थिए। तर, उनीहरू कहाँ र कस्तो अवस्थामा रहेको भन्ने जानकारी नभएको परिवारले बताएको छ।
परिवारका अनुसार हराएका बखत उनीहरूले विद्यालयको पोशाक सेतो सर्ट र नीलो स्कर्ट लगाएका थिए। -रासस