मुगुमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते
मुगुमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन्। तीन जनाको अवस्था गम्भीर छ।
बोलेरो दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका–२, रिप गाउँका एकै नाम थर भएका दुई जना राम परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले बताए। त्यस्तै, दुर्घटनामा रिप गाउँकै प्रकाश बोहोरा र पिउस परियारको पनि ज्यान गएको छ।
दुर्घटनामा मुगुको सोरु गाउँपालिका–७, सिप गाउँका दिनेश लावड, सोरु गाउँपालिका–५ का गोविन्दा शाही र लोकजङ्ग नेपाली गम्भीर घाइते भएका छन्। दिनेश बोलेरो चालक हुन भने लोकजंग वडा सदस्य हुन्।
यसैगरी, दुर्घटनामा सोरु गाउँपालिका–६ का सेरे रोकाया र हुम्लाको सिमीकोट–२ का उदीप बोहोरा घाइते छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सोरु गाउँपालिकाबाट मुगु सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नम्बरको बोलेरो सोमबार साँझ सोरु गाउँपालिका–७, चिप्लेगाडामा दुर्घटना भएको हो। बोलेरो सडकबाट २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।