ललिता निवास प्रकरणमा सीआईबीले लीलामणि पौडेलसँग लियो बयान
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार साउन २८ गते उनको बयान कागज गराइएको हो। अनुसन्धानमा संलग्न स्रोतका अनुसार पौडेलले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएकै बेहोराको बयान सीआईबीमा समेत दिएका छन्।
अख्तियारमा पौडेलले मुख्यसचिवको भूमिका कार्यकारी नभई प्रक्रियागत रूपमा आएका फाइल निर्णयार्थ मन्त्रिपरिषद्मा पेश गर्ने मात्र भएको बताएका थिए। प्रहरीसँग पनि उनले त्यही कुरा भनेको सीआईबी स्रोतले बताएको छ। भ्रष्टाचार कसूरमा अख्तियारले पौडेलको बयान लिए पनि मुद्दा भने चलाएको थिएन।
उनी बाबुराम भट्टराई प्रधानमन्त्री छँदा मुख्यसचिवको हैसियतमा यो प्रकरणमा मुछिएका हुन्। भट्टराईको कार्यकालमा २०६९ सालमा ललिता निवासको जग्गा टिकिन्छा गुठीका नाममा सारिएको थियो। टिकिन्छा गुठीको नाममा लगिएको जग्गा नक्कली मोही खडा गरी किनबेच भएको थियो।
पौडेलले विभागीय मन्त्रालयबाट आएको फाइल मन्त्रिपरिषद्मा पेश गरेका थिए। मन्त्रिपरिषद्ले उक्त फाइल अध्ययनका लागि सामाजिक समितिमा पठाएको थियो। समितिमा पौडेल सदस्य-सचिव थिए। समितिले पुनः मन्त्रिपरिषद्मा पेश गरेपछि पारित भएको थियो। पारित भएपछि पनि कार्यान्वयनका लागि पौडेलले नै पत्र पठाएका थिए।