सय किलो भनिएको सुन करीब ६१ किलो मात्र, अझै घट्न सक्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन करीब ६१ किलोग्राम मात्रै भएको पाइएको छ भने अझै घट्न सक्ने जनाइएको छ।
साउन ३ गते विमानस्थलबाट जाँच पास भए पनि बरामद भएको सुन करीब १०० किलो रहेको राजस्व अनुसन्धान विभागले अनुमान गरेको थियो। तर, सोमबार ‘ब्रेक शू प्याड’ बाट निकालेर जोख्दा यसको तौल ६० केजी ७८९ ग्राम मात्र भएको छ।
राजस्व अनुसन्धान विभागले विमानस्थलबाट पास भएको सुन सिनामंगलबाट बरामद गरेको थियो। त्यसलाई बल्ल जोख्दा अनुमानभन्दा निकै कम तौल भेटिएको हो।
अझै सुन गाल्न बाँकी नै रहेकाले तौल केही घट्ने अनुमान छ। “यो ब्रेक शू प्याडबाट निकालिएको ढिका सुन हो,” नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेरसिंह कडायतले हिमालखबरसँग भने, “गाल्न बाँकी नै रहेकाले अलि अलि घट्न सक्छ।”
हङकङबाट ल्याइएको सुनको वास्तविक मालिक को हो भन्ने अझै खुलेको छैन। यो प्रकरणमा १८ जना पक्राउ परे पनि धेरैजसो सुन ओसारपसारमा संलग्न मात्रै छन्।
तिब्बती मूलका बेल्जियमका नागरिक दावा छिरिङले भने चिनियाँ पक्षसँग मिलेर नेपालमा अवैध सुनको व्यवस्थापन गरेको खुलेको छ। उनी हालसम्म पक्राउ परेका उपल्ला तहका सदस्य रहेको प्रहरीको दाबी छ।
१९ दिनसम्म राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेर संगठित प्रकृतिको अपराध भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई थप अनुसन्धान गर्न फाइल हस्तान्तरण गरेको थियो।
शुरूमा प्रहरीलाई समानान्तर रूपमा संलग्न नगराएकाले प्रमाण सुरक्षणका कारण तस्करको माथिल्लो तहसम्म अनुसन्धान पुग्न भने कठिन हुनेछ। चौतर्फी दबाबपछि मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धानको जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए।