घुलनशील माटोमा परियोजना कति उचित?
परियोजना निर्माणमा घुलनशील माटोलाई बेवास्ता गरिनु गम्भीर क्षतिको कारक बन्ने भन्दै विज्ञहरू सिक्टा सिंचाइबाट पाठ सिक्न सुझाउँछन्।
कृष्णप्रसाद नेपाल २०७१ सालमा सिक्टा सिंचाइ आयोजनाको निर्देशक बनेर आउँदा मूल नहरको निर्माण चलिरहेको थियो। आयोजना नहर भत्किने, भ्वाङ पर्ने जस्ता गम्भीर समस्यासँग जुध्दै थियो।
राप्तीको पानीले बाँकेका विभिन्न स्थानमा सिंचाइ सुविधा पुर्याउने लक्ष्यसाथ चुरे क्षेत्र हुँदै बनिरहेको आयोजनाको मूल नहरको १७ देखि ३५ किलोमिटरसम्म पटक पटक यस्तो समस्या देखिएको थियो। “२०७५ साउनमा नहर परीक्षण नभई सञ्चालन गरिएकोमा झन्डै १० दिनपछि फेरि भत्कियो, इन्जिनीयरिङ अध्ययन संस्थानले अध्ययनपछि घुलनशील माटोका कारण नहर भत्किएको पुष्टि गर्यो,” नेपाल भन्छन्।
उनले यतिन्जेल न घुलनशील माटोबारे सुनेका थिए न त त्यसले परियोजनामा यस्तो असर पुर्याउने अनुमान गरेका थिए। त्यसअघिका परियोजनामा यस्तो समस्या देखिएको थिएन पनि।
जर्मन परामर्शदाता कम्पनी लामेयर इन्टरन्याशनलले २०३५ सालमा पहिलो पटक सिक्टा आयोजनाको पूर्व सम्भाव्यता अध्ययन गरेको थियो। अध्ययनबाट सम्भाव्य देखिएको आयोजनाको यूरोपेली इन्जिनीयरको सहभागितामा २०५९ सालमा पुनः अध्ययन गरिएको थियो। यसले प्राविधिक, भौगोलिक, आर्थिक आदि सबै पक्षबाट आकर्षक देखाएपछि विस्तृत अध्ययन तयार भयो। तर, त्यसमा कुनै एक स्थानमा घुलनशील माटो रहेको बाहेक बाँकी विवरण उल्लेख थिएन।
बाँकेको ४३ हजार ७०० हेक्टरमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य सहित २०६२/६३ सालमा सरकारले आफ्नै लगानीमा चार चरणमा निर्माण अघि बढाएको थियो। पहिलो चरणमा राप्ती नदीको अगैयामा बाँध बाँधेर निर्माण थालिएकोमा आयोजनाको अन्तिम बिन्दु जेठीनाला थियो। बाँधदेखि १७ किलोमिटरसम्म दोस्रो चरण, १७ देखि ३५ किलोमिटरसम्म तेस्रो चरण र ३५ देखि ४५ किलोमिटरसम्म चौथो चरणमा मूल नहर निर्माण गरिएको थियो।
राष्ट्रिय गौरवको आयोजनाको नहर भत्किएपछि अनियमितताको आशङ्कामा २१ जना विरुद्ध मुद्दा समेत परेको थियो। तर, अदालतले घुलनशील माटोका कारण नहरमा क्षति पुगेको ठहर गर्यो।
के हो घुलनशील माटो?
अंग्रेजीमा ‘डिस्पर्सिभ स्वाइल’ भनिने घुलनशील माटोमा नून, सोडियम, आइरन जस्ता रसायन पाइने भएकाले ‘सोडिक स्वाइल’ पनि भनिन्छ। पानीको प्रत्यक्ष सम्पर्कमा आउँदा घुल्नु यसको विशेषता हो। नेपालमा हालसम्म कञ्चनपुर, कैलाली, बाँके, दाङ, उदयपुर, इलाममा यस्तो माटो पाइएको छ। नेपाल बाहिर भारत, केन्या, अस्ट्रेलियाको ताज्मानिया, इरान र अफ्रिकामा पनि पाइएको छ।
घुलनशील माटो जमीनको कति गहिराइसम्म भेटिन्छ र कुन स्थानमा यसको अनुपात कति हुन्छ भन्ने यकीन भइसकेको छैन। नेपालमा २०७२ सालमा त्रिभुवन विश्वविद्यालायको इन्जिनीयरिङ अध्ययन संस्थान (आईओई), पुल्चोकले यसको पहिचान गरेको थियो। “मैले पीएचडी गर्दाखेरि ‘डिस्पर्सिभ स्वायल’ बारे पढेकाले सिक्टाको डिस्पर्सिभनेस जाँच्न पुल्चोक क्याम्पसको ल्याबमा परीक्षण गराएको थिएँ,” पुल्चोक क्याम्पस सिभिल इन्जिनीयरिङ विभागका सहप्राध्यापक इन्द्रप्रसाद आचार्य भन्छन्, “घुलनशील माटो पानीको सम्पर्कमा आउँदा घुल्छ भने पानीमा भएका मिनरल लवणहरू पग्लेर जान्छन्, रसायन ‘डिग्रेड’ हुँदै जान्छ। माटोको ‘बाइन्डिङ’ क्षमता कमजोर हुन्छ र निर्माण कार्यमा समस्या देखिन थाल्छ।” सिक्टाको माटोमा नुनको मात्रा पनि फेला परेको आचार्यको भनाइ छ।
सुक्खा मौसममा घुलनशील माटो बगेर गइसकेपछि बाँकी रहेका तत्त्व चट्टान जस्तै ठोस बन्छन्। त्यसैले हाेला भूगर्भविद् श्रीकमल द्विवेदी यो माटोलाई सिवालिकको नरम चट्टान भन्न रुचाउँछन्। “पानीको सम्पर्कमा आउँदा सामान्य माटो गल्छ तर घुलनशील माटो पग्लिन्छ र फैलिन्छ। यसमा बाँकी रहेका रसायन थिग्रिएर ठोस रूपमा ठूल्ठूला कोलम बन्दा रहेछन्। तिनै कोलमलाई स्थानीयले शिवलिङ्ग मान्दै धार्मिक स्थल बनाउँदा रहेछन्।”
कसरी चिन्ने?
दुई वटा ग्लासमा पानी भरेर एउटामा घुलनशील र अर्कोमा सामान्य माटो राखी चार दिनसम्म त्यत्तिकै छोडिदिने। सामान्य माटो पिंधमा जम्मा भई पानी ‘फिल्टर’ भएर सफा हुन्छ। घुलनशील माटो भने पानीमै घुलिसकेको हुन्छ। ग्लासको पानी फाल्दा सामान्य खाले माटो पिंधमै रहन्छ भने घुलनशील माटो पानीसँगै बगेर सकिन्छ।
भूगर्भविद् द्विवेदीका अनुसार घुलनशील माटोको ‘सोडियम’ पानीमा घुल्दै, धमिलो हुँदै जान्छ। पानी नपर्दा वा सुक्खा हुँदा अरू माटो जम्छ भने घुलनशील माटो फैलिन्छ। सामान्य माटो सुक्दा पुरानै स्वरूपमा फर्किन्छ, घुलनशील माटो चाहिं बालुवा बन्छ।
ग्लासमा गरिने यस्तो सामान्य परीक्षणको नतीजालाई परियोजनाकै हकमा भने अन्तिम मान्न सकिंदैन। यसका लागि प्रयोगशालामै परीक्षण गर्नुपर्ने हुन्छ। माटो परीक्षण ‘हाइड्रोमिटर’ र ‘पिनहोल’ गरी दुई विधिबाट हुन्छ।
परियोजनामा प्रभाव
घुलनशील माटो भएको जमीन पानी पर्दा भासिने वा भ्वाङ पर्न थाल्छ। कतिपय अवस्थामा सामान्य किसिमकै माटो पनि नभासिने होइन तर घुलनशील भएको ठाउँमा जोखिम बढी हुन्छ। त्यसैले घुलनशील माटो प्रयोग गरिएका सडक तथा नहर कमसल हुन्छन्।
अन्तर्राष्ट्रिय अभ्यास अनुसार परियोजनामा माटो परीक्षण अनिवार्य भए पनि नेपालमा बढीजसो भौतिक परीक्षण मात्र गरिंदै आएको थियो। माटोको रसायन परीक्षण एवम् विश्लेषण नगरिंदा सिक्टाकै जस्तो समस्या निम्तिने सहप्राध्यापक आचार्य बताउँछन्। “सिक्टामा भौतिक परीक्षण भयो तर केमिकल टेस्ट भएन। त्यसैले त्यहाँको माटोको घुलनशीलता थाहा भएन,” उनी भन्छन्, “जब नहरमा पानी छोडियो, समस्या देखा पर्यो। अबका परियोजनामा हेलचेक्र्याइँ गर्नु हुँदैन।”
यद्यपि सिक्टापछिका परियोजनामा माटो परीक्षण गर्नुपर्ने रहेछ भन्ने चेत पलाएको आचार्य बताउँछन्। उनका अनुसार परियोजनामा कालो माटो (एक्सपान्सिभ स्वाइल) पनि हानिकारक मानिन्छ। उनी भन्छन्, “कालो माटो पानी पर्दा फुल्छ, दलदले हुन्छ। पानी सुकेपछि चिरा पर्छ। यस्तो अवस्थामा माटोको आयतन परिवर्तन भई समस्या निम्तिन्छ।”
भूगर्भविद् द्विवेदी नेपालमा घुलनशील माटो कहाँ कहाँ छ र त्यस्तो ठाउँमा परियोजना बनाउँदा केकस्ता सावधानी अपनाउनुपर्छ भन्नेबारे पर्याप्त अध्ययन हुन बाँकी नै रहेको ठान्छन्। “सिक्टामा देखिएको समस्या अब अन्य परियोजनामा देखिनु हुँदैन, त्यसैले परियोजना थाल्नुअघि नै जोखिमप्रति सजग हुनुपर्छ,” उनी भन्छन्।
सिक्टाका पूर्व निर्देशक नेपाल भने घुलनशील माटो भएको स्थानमा जोखिम न्यूनीकरणका विधि अपनाएर पनि परियोजना अघि बढाउन सकिने तर्क गर्छन्। “सिक्टाको हकमा पनि यही गरिएको हो, समस्या हल गरिएपछि अहिले नहर नियमित सञ्चालनमा छ,” उनी भन्छन्।
नेपालका अनुसार सिक्टापछि थालिएको महाकाली सिंचाइ परियोजनामा पनि घुलनशील माटो पाइएको थियो तर गम्भीर क्षति नै पुर्याउने परिमाणमा होइन। “माटोमा घुलनशीलताको मात्रा कम छ भने परियोजना अघि बढाउन सकिन्छ,” उनी भन्छन्।
के छ समाधान?
घुलनशील माटोमा पाइने रसायनको प्रतिक्रियाले निम्त्याउने समस्या कम गर्न विज्ञहरूले उपाय पनि सुझाएका छन्। “मुख्यतः घुलनशील माटोमा पानी जम्न दिनुभएन, निकासको व्यवस्था गरिनुपर्छ,” आचार्य भन्छन्, “प्लास्टर गरिएकै नहरमा पनि यो कुराको निरन्तर निगरानी राखिनुपर्छ।”
भूगर्भविद् द्विवेदी घुलनशील माटोमा पाइने रसायनको प्रतिक्रिया कम गर्न चुनढुङ्गा वा अन्य माटो प्रयोग गर्न सकिने बताउँछन्। “प्रथमतः घुलनशील माटोमा ‘डिस्पर्सिभनेस’ को मात्रा परीक्षणसँगै नक्शाङ्कन र अध्ययन गर्नुपर्छ,” उनी भन्छन्, “सकेसम्म यस्तो माटोमा परियोजना बनाउन हुँदैन। बनाउनै पर्ने भए चुन अथवा अन्य सामग्री प्रयोग गर्नुपर्छ।”
घुलनशील माटोको अनुपात ठाउँ अनुसार उच्च, मध्यम र न्यून हुने गर्छ। यसै अनुसार समाधानका उपाय पनि फरक फरक हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव कृष्णप्रसाद नेपाल बताउँछन्। “संसारभर एउटै विधि लागू नहुन सक्छ, माटोको अनुपात अनुसार फरक पर्छ। त्यसैले यसमा ‘हिट एन्ड ट्रायल’ नै गर्ने हो,” नेपाल भन्छन्, “सबैभन्दा उचित उपाय चाहिं घुलनशील माटोलाई अरू माटोले प्रतिस्थापन गर्ने हो।”
प्रतिस्थापनको यही प्रक्रिया चार-पाँच वर्षसम्म अपनाइँदा समस्या नरहने नेपालको भनाइ छ। “घुलनशील माटो रहेको नहरलाई निगरानीमा राखिरहनुपर्छ। पानी चुहिएको या चिरा परेको भए मर्मत गरिहाल्नुपर्छ,” उनी सुझाउँछन्।