सुन तस्करीको अनुसन्धान सीआईबीलाई गर्न दिनुपर्ने कांग्रेसको माग
करीब १०० किलो सुन तस्करीको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई नै गर्न दिनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले अर्को समिति नबनाई सीआईबीलाई नै आवश्यकन अनुसन्धान गर्न दिनुपर्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। सीआईबी लगायत सरकारका निकायलाई निष्पक्ष छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि कानूनी कारबाही गर्न माग गर्ने निर्णय गरेको लेखकले बताए।
त्यस्तै, कांग्रेस संसदीय दलको बैठकले संसद्को अवरोध हटाउन पहल गर्ने निर्णय पनि गरेको छ। बैठकका निर्णयबारे जानकारी गराउँदै प्रमुख सचेतक लेखकले अवरुद्ध सदन खुलाउन प्रमुख प्रतिपक्षी दललाई अवरोध अन्त्यकाे आग्रहका साथ सबै विषयमा सदनमा छलफल गर्ने सुनिश्चित वातावरण बनाउन पहल गरिने बताए।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरिरहेको छ। त्यसलाई लिएर संसद् अवरुद्ध गर्दै आएको छ।
यससँगै बैठकले वर्तमान सत्ता गठबन्धन कांग्रेसको प्रयास र प्रयत्नमा बनेको उल्लेख गर्दै गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपमा काम गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले मुलुकमा भ्रष्टाचार निवारण र सुशासनको सुनिश्चितताका लागि सरकारसँग आग्रह गर्ने र जग्गा कित्ताकाट खुले पनि कार्यान्वयन नभएको अवस्थामा तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको लेखकले बताए।
देशभर फैलिएको डेंगी र आँखा पाक्ने रोगको संक्रमण रोक्न आवश्यक औषधोपचारको व्यवस्था गरी रोकथाम तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।
देशव्यापी रूपमा पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गले तत्काल काम गर्न तथा पीडित किसानलाई उचित राहत एवं क्षतिपूर्ति दिन समेत सरकारसँग माग गरेको छ।
बैठकले बाढी, पहिरो र डुबान प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको अविलम्ब व्यवस्था गर्न, ध्वस्त-क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्न, विभिन्न स्थानमा अवरुद्ध सडक यातायात अविलम्ब सञ्चालन गर्न समेत माग गरेको छ।
यसैगरी बैठकले तराई-मधेशका विभिन्न जिल्लामा अल्पवृष्टिका कारण धेरै स्थानमा धान रोपाइँ हुन नसकेको र जमीनमुनिको पानीको सतह घटेका कारण खानेपानीको समेत समस्या भई नागरिक ठूलो मर्कामा परेको उल्लेख गर्दै किसानलाई राहत दिन र खानेपानीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ।