धान उत्पादन घट्ने, खाद्य असुरक्षाको जोखिम
यस वर्ष प्रमुख कृषि बाली धानको उत्पादन घट्न सक्ने आकलन गरिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान रोपाइँको मौसम सकिन लाग्दा समेत झन्डै दुई लाख हेक्टर खेतमा अझै रोपाइँ हुन सकेको छैन। मन्त्रालयका अनुसार साउन २६ सम्म देशका ८७ प्रतिशत खेतमा मात्रै रोपाइँ सकिएको छ।
गत वर्ष साउन २८ सम्म ९४ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो। सामान्यतया साउन मसान्तसम्म धान रोपाइँ हुन्छ। तर, धान रोपाइँ जति ढिला भयो उति उत्पादन घट्ने सम्भावना हुन्छ।
देशको कुल धान उत्पादनको एकचौथाइ हिस्सा ओगट्ने मधेश प्रदेशका एकतिहाइ खेतमा अझै धान रोपाइँ सकिएको छैन। मधेशका ३२ प्रतिशत खेत अझै बाँझै छन्। मन्त्रालयका अनुसार मधेशको चार लाख एक हजार ६५० हेक्टर खेतमध्ये दुई लाख ७१ हजार ५९० हेक्टरमा मात्रै धान रोपाइँ सकिएको छ।
गत वर्षको यही अवधिमा यस वर्षभन्दा एक लाख हेक्टर बढी खेतमा धान रोपाइँ सकिएको थियो। यो वर्ष कोशीको ६ प्रतिशत, बागमतीको १२ प्रतिशत, गण्डकी र लुम्बिनीका सात-सात प्रतिशत खेतमा अझै रोपाइँ सकिएको छैन। कर्णाली र सुदूरपश्चिमका अधिकांश खेतमा भने रोपाइँ सकिएको छ।
यस वर्ष मनसुन सक्रिय हुन ढिला भएको तथा गाईगोरुमा लाग्ने लम्पी स्किन रोगका कारण रोपाइँ ढिला भएको मन्त्रालयले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष करीब एक साता ढिलो १४ जूनमा मनसुनी वायु नेपाल प्रवेश गरेको थियो। खासगरी, कमजोर मनसुनका कारण तराईमा पानी कम पर्दा धान रोपाइँ ढिला हुन पुगेको हो। नेपालमा अधिकांश किसान खेती गर्न आकाशे पानीमा निर्भर छन्।
अर्कातिर, गाईगोरुको छालामा लाग्ने लम्पी स्किन रोगका कारण देशका हजारौं गाईगोरु मरेका छन्। पशु सेवा विभागका अनुसार १३ लाख पाँच हजार पशुमा लम्पी स्किन रोग लागेको र यसमध्ये ४७ हजारभन्दा बढी पशु मरेका छन्। खेत जोत्ने गोरु मर्दा र बिरामी पर्दा रोपाइँमा असर पुगेको कृषि विभागकी प्रवक्ता जानुका पण्डितले बताइन्।
कृषि मन्त्रालयका अनुसार नेपालमा १४ लाख ८८ हजार हेक्टर खेतमा धान रोपाइँ हुन्छ। यसमध्ये १२ लाख ९२ हजार हेक्टर खेतमा मात्रै धान रोपाइँ सकिएको छ। मन्त्रालयले साउन मसान्तसम्म ९२ देखि ९५ प्रतिशत खेतमा धान रोपाइँ हुन सक्ने बताएको छ।
कृषि मन्त्रालयका पूर्व सचिव तथा नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्ष योगेन्द्रकुमार कार्की यस वर्ष करीब डेढ लाख हेक्टरसम्म खेत बाँझै रहन सक्ने आकलन गर्छन्। त्यसो हुँदा करीब पाँच लाख मेट्रिक टनसम्म धान उत्पादन घट्न सक्ने कार्कीको भनाइ छ। “धान उत्पादन पाँच लाख मेट्रिक टन घट्नु डरलाग्दो स्थिति हो,” उनी भन्छन्, “खाद्य सुरक्षा सुनिश्चित गर्न विभिन्न विकल्पमा काम शुरू गर्नुपर्छ।”
मौसम सामान्य भएर धान मनग्ये फलेको वर्ष पनि नेपालले धानचामल आयात गर्नुपर्छ। गत आर्थिक वर्ष २०७९/८० मा ५४ लाख ८६ हजार टन धान फलेको कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्याङ्क छ। अहिलेसम्मकै सर्वाधिक धान आर्थिक वर्ष २०७७/७७८ मा ५६ लाख २१ हजार मेट्रिक टन फलेको थियो।
नेपालमा वार्षिक ७० लाख मेट्रिक टन हाराहारीमा धान खपत हुने भएकाले थप आवश्यक धानचामल भारतबाट आयात हुँदै आएको छ। यस वर्ष भारतले बासमती बाहेकका चामल निर्यातमा प्रतिबन्धको घोषणा गरिसकेको छ। यो प्रतिबन्धका बावजूद नेपाललाई आवश्यक थप चामल निर्यातलाई फुकुवा गरिदिन अधिकारीले भारत सरकार समक्ष अनुरोध गरेका छन्।
भारतले चामल निर्यातमा प्रतिबन्धको घोषणा गरे लगत्तै बजारमा चामलको मूल्य भने कम्तीमा १० प्रतिशतले बढिसकेको छ। भारतले चामल निर्यातमा रोक लगाएकै वेला खेतमा धान रोपाइँ समेत सुस्त हुँदा यो वर्ष चामलको आपूर्तिमा बाधा पुग्ने सम्भावना रहेको र त्यसले खाद्य सुरक्षामा असर गर्ने कृषि अर्थशास्त्र समाजका अध्यक्ष कार्की बताउँछन्।
चामलको आपूर्तिको व्यवधानसँग जुध्न चामलको खपत कम गर्नुपर्ने तथा चैते धानको उत्पादन बढाउन अहिलेदेखि तयारी थाल्नुपर्ने उनी बताउँन्। “सरकारले नागरिकलाई एक छाक भात खाएर अर्को छाक अरू अन्न खान प्रेरित गर्नुपर्छ,” कार्की भन्छन्, “हिउँदे धानको उत्पादन बढाउन अहिलेदेखि तयारी गर्नुपर्छ।”
उनी धानको उत्पादन धेरै घट्न नदिन किसानका खेतमा युरिया मलको आपूर्ति सहज बनाउनतिर सरकार चनाखो हुनुपर्ने बताउँछन्।