फुकुओकामा नेपथ्य भाका
जापान यात्राका क्रममा अगस्ट ८ मा राजधानी टोक्योमा कन्सर्ट गरेको नेपथ्य ब्यान्डले शनिबार अर्को शहर फुकुओका गुन्जायो।
फुकुओकाको सिभिक हलमा भएको कार्यक्रममा सबैभन्दा पहिले ‘सा कर्णाली’ र ‘मै मरी जाउँला’ को म्युजिक भिडिओ प्रस्तुत गरियो। त्यसपछि नेपथ्य टोलीले ‘कोशीको पानी’ गीतबाट दर्शकसँग पहिलो साक्षात्कार गर्यो। लगत्तै ‘भेंडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’, ‘चरी मर्यो’, ‘जोमसोमे बजार’ र ‘शिरफूल’ गुन्जियो।
त्यसपछि गायक अमृत गुरुङले नेपालीहरू विदेशिने परम्पराबारे चर्चा गरे। युवा पुस्ता ठूलो संख्यामा बाहिरिने क्रमले अहिले नेपाली समाज एकखाले शून्यतातर्फ अघि बढ्दै गएको बताउँदै उनले थपे, “कुनै समय विदेश जाने परम्परा शुरू गरेका लाहुरेहरूले उतिवेला फर्केर आउँदा मीठा गीतहरू पनि बोकेर ल्याउँथे।”
त्यसपछि अमृतले गोर्खा फौजले उतिवेलै भित्र्याएको गीत गाएर सुनाएः
नैनताल नैनताल, घुमिआयो रेल
आँखामा लाउने कालो गाजल, बुलबुलेमा तेल।
कार्यक्रमको अन्त्यतिर श्रोताले सर्वाधिक रुचाएको ‘रेशम’ र ‘तालको पानी’ गाइरहँदा नृत्यरत दर्शकको उत्साह झनै चुलिएको थियो। लगत्तै ‘रातो र चन्द्रसूर्जे’ गाउने वेला त्यो पारो अझ माथि उक्लियो। हलभरि जताततै राष्ट्रिय झन्डा हल्लिरहेका थिए।
फुकुओकामा नेपालीहरूको संख्या झन्डै १० हजार पुगेको अनुमान गरिन्छ। कन्सर्ट आयोजक टोलीका प्रकाश थापाले हालसम्म यहाँ नेपालीहरूको ठूलो भेलामा ६०० को उपस्थिति रहेको स्मरण गर्दै भने, “त्यस हिसाबले नेपथ्य कन्सर्टमा उपस्थित १२ सयभन्दा बढी दर्शकको संख्या यस शहरमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली जमघट हो।”
कन्सर्टमा सधैं झैं अमृतलाई ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुबिन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
फुकुओकाको कन्सर्ट सकिएसँगै १४ सदस्यीय नेपथ्य टोली आइतबार दिउँसो अर्को शहर ओसाकातर्फ प्रस्थान गरेको छ। ब्यान्डले अगस्ट १७ मा ओसाकास्थित ‘नाम्बा ह्याच’ मा यसपालिको जापान यात्राको अन्तिम कन्सर्ट गर्नेछ।