‘अबको केही दशकमा सानो घाउले पनि हाम्रो मृत्यु हुन सक्छ’
कुनै पनि एन्टिबायोटिक्स बन्न वर्षौं अध्ययन गर्नुपर्छ। वर्षैपिच्छे नयाँ नयाँ प्रकृतिका एन्टिबायोटिक्स बनाउन सकिंदैन। तर, रोग त घट्दैन। ती रोग कम गर्न कडा किसिमका एन्टिबायोटिक्स चाहिन्छ, त्यो वेला त्यस्ता एन्टिबायोटिक्स नबन्दा सामान्य रोगले पनि मानिस मर्न सक्छन्।
दुई दशकभन्दा बढी समयदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सरुवा रोग प्रकोपका रूपमा फैलिएका वेला सर्वाधिक खोजिने चिकित्सकमध्ये पर्छन्। उनका सहकर्मी चिकित्सकहरू पुनलाई नेपालमा देखिएका सरुवा रोगको ‘इन्साइक्लोपेडिया’ भन्दा फरक नपर्ने बताउँछन्। उनै पुनसँग नेपालमा देखिएका सरुवा रोग र तिनका प्रवृत्तिका विषयमा हिमालखबरका लागि सागर बुढाथोकीले कुराकानी गरेका छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश।
नेपालमा जुनसुकै सरुवा रोग प्रकोपका रूपमा फैलनासाथ तपाईंको खोजी व्यापक हुने गर्छ। कारण के होला?
म बाटोमा हिंड्दा पनि सरुवा रोगका बारेमा सोचिरहेको हुन्छु। कुनै रोग फैलियो भने त्यसको अध्ययनमा धेरै समय घोत्लिन्छु। अन्तर्राष्ट्रिय जर्नलहरू अत्यधिक पढ्छु, जसले मलाई संसारभर फैलिएका रोग र तिनका प्रवृत्ति थाहा पाउन मद्दत गर्छ। जोकोहीले पनि आफ्नो रुचिको विषयमा गहिरिएर सोच्ने हो भने धेरै नयाँ कुरा थाहा पाउन सक्छ।
बिरामी हेरेपछि या कुनै रोगको लक्षण देखिएपछि अरू चिकित्सक जहाँबाट सोच्न छाड्छन्, म त्यहाँबाट सोच्न सुरु गर्छु। अत्यधिक गहिरिएर सोच्ने बानीले मलाई सरुवा रोगका बारेमा बुझ्न र बुझाउन मद्दत मिलेको हो।
त्यसैले मैले गरिरहेका काम, अध्ययन र त्यसलाई प्रस्तुत गर्ने तरीका देखेर धेरै मानिस मसँग सरुवा रोगबारे कुरा गर्न खोज्नुहुन्छ।
टेकु अस्पतालमा तपाईंको प्रवेश कसरी भयो? त्यति वेला सरुवा रोगको अवस्था कस्तो थियो?
रूसबाट एमबीबीएस सकेपछि म सन् २००२ तिर मेडिकल अफिसरका रूपमा टेकु अस्पताल प्रवेश गरें। त्यहाँ म सरुवा रोग विशेषज्ञ बन्छु भनेर गएको थिइनँ। मलाई सरुवा रोगबारे त्यति थाहा पनि थिएन। टेकु अस्पताल छिरेपछि मात्रै मलाई नेपालमा सरुवा रोग यति धेरै रहेछन् भन्ने थाहा भयो।
त्यहाँ झाडापखालाका बिरामी धेरै थिए। कतिसम्म भने, भुइँमा समेत बिरामी राख्ने ठाउँ हुँदैनथ्यो। घण्टामै ३०/४० जना बिरामी भर्ना हुन्थे। एउटा बेडमा दुई जना बिरामी राख्नुपर्थ्यो। बस नै रिजर्भ गरेर कालाजारको बिरामी ल्याइएको हुन्थ्यो। कडा खालका मलेरियाका बिरामी त्यसैगरी आएका हुन्थे।
राउन्डमा जाँदा अग्रज चिकित्सकले ‘डेंगी भनेको थाहा छ?’ भनेर सोध्थे। त्यो वेला बाङ्लादेश र श्रीलंकामा मात्र डेंगी फैलिएको थियो। त्यो विषय मलाई पनि थाहा थिएन। नेपालमा बल्ल २००४ मा डेंगी देखापर्यो। जापनिज इन्सेफ्लाइटिसले पनि वेलावेला दुःख दिन्थ्यो।
मानिसहरू त्यति वेला कसैलाई गाली गर्दा समेत हैजाले लगोस् भन्थे। हैजा लागेर गाउँ गाउँमा मानिसहरू मर्थे। त्यो वेला सरुवा रोग साँच्चिकै डरलाग्दो थियो।
टेकु अस्पताल प्रवेश गर्दैगर्दा सरुवा रोग विशेषज्ञ बन्छु भनेर नसोचे पनि यो विषयतिर आकर्षण कसरी बढ्यो?
टेकु अस्पतालमा काम गर्दै जाँदा सरुवा रोगको प्रकोप ठूलो भए पनि राज्यले नजरअन्दाज गरेको थाहा पाएँ। सरुवा रोग विरुद्ध जनचेतना र लगानी दुवै थिएन।
त्यो देखेपछि मलाई सरुवा रोग विरुद्धको लडाइँ कोही विदेशीले लडिदिंदैन भन्ने लाग्यो। म टेकु अस्पताल नछिरेको भए अन्य रोगको चिकित्सक हुन सक्थें। टेकु अस्पताल छिर्नु नै सरुवा रोगतिर आकर्षित हुनुको कारण बन्यो।
भनेपछि सरुवा रोगलाई राज्यले त्यति वेला पनि बेवास्ता गर्थ्यो?
सरुवा रोग सधैं बेवास्तामा नै हुने रहेछ। मुटु, फोक्सो जस्ता नसर्ने रोगहरू विशेषगरी धनाढ्य, उच्च वर्ग र नेताहरूलाई देखिने र यस्ता वर्गका लागि अस्पताल बन्ने रहेछ। सरुवा रोग भने खासगरी आर्थिक रूपमा विपन्न समुदायमा देखिन्छ। किनकि विपन्नहरूसँग सरुवा रोग सार्ने कीटबाट बच्ने किसिमका घर तथा लत्ताकपडा हुँदैन।
झाडापखाला र हैजाको प्रकोप फैलनुको कारण खानेपानी हो। विशेषगरी विपन्न मानिस बस्ने स्थान र वातावरणका कारण धेरैजसो रोग त्यस्तै ठाउँमा हुन्छ।
कोभिडले भने कुनै वर्गलाई ‘टार्गेट’ गरेन। तर, संक्रमणको वृद्धिदर भने विपन्न समुदायमा बढी भयो। प्रकोप टरेपछि बिर्सने बानी पहिले र अहिले उस्तै छ।
तपाईंले देख्नुभएको दुई दशकअघिको र अहिलेको टेकु अस्पतालमा के-कस्तो भिन्नता छ?
त्यो वेला जुन भौतिक संरचना थियो, अहिले पनि त्यस्तै छ। केही टहरा थपिएका छन्, अनुसन्धान गर्ने एक भवन बनेको छ। बाँकी सबै पुरानै संरचनामा चलेको छ। अहिले केही आईसीयू बेड थपिए तर भौतिक रूपमा उल्लेख्य प्रगति छैन।
त्यो वेला बिरामी खचाखच तर चिकित्सक कम थिए। अचेल पहिलेभन्दा कम बिरामी आउँछन्। पहिला कालाजार, टाइफाइड, हैजा लगायतका बिरामी आउँथे, अहिले कीटजन्य रोगका बिरामी आउँछन्।
अझ भन्ने हो भने पछिल्लो समय यहाँ आएका बिरामीमा ज्वरोको लक्षण देखिन्छ। तर, कुन रोग लागेको हो भन्ने पत्तै पाइँदैन। अहिले रोगको प्रवृत्ति नै परिवर्तन भएको छ।
रोग पहिचान नभएका ज्वरोका बिरामी धेरै आउँछन् भन्नुभयो। रोग पहिचान नभएपछि उपचार गर्न अनुमानको भरमा एन्टिबायोटिक्स चलाउनुपर्ने हुन्छ। त्यसको दीर्घकालीन असर कस्तो हुन्छ?
टेकु अस्पताल आउने बिरामीमध्ये अधिकांश अज्ञात ज्वरोका बिरामी छन्। उनीहरू ज्वरोले थलिएका हुन्छन् तर परीक्षण अभावले त्यसको कारण थाहा हुँदैन। यो अज्ञात ज्वरोले कुनै समय ठूलो प्रकोप निम्त्याउने जोखिम छ।
उदाहरणका लागि कोही मानिस हनहनी ज्वरो आएर अस्पताल पुग्छ। उसलाई त्यहाँ उपलब्ध सम्पूर्ण परीक्षण गर्दा पनि केही देखिंदैन। यसरी रोग पहिचान नभएपछि कुनै न कुनै रोगको अनुमान गरेर हामीले उपचार गर्नुपर्ने हुन्छ। किनकि, रोग पहिचानका लागि त्यहाँ परीक्षणको विकल्प सकिइसकेको हुन्छ।
त्यसपछि त्यो बिरामीलाई धेरैभन्दा धेरै कीटाणु मार्ने एन्टिबायोटिक्स चलाउनुपर्ने बाध्यता हुन्छ। एउटा एन्टिबायोटिक्सले काम गरेन भने अर्को, अर्कोले काम गरेन भने अर्को। यसरी एउटा बिरामीमाथि अनावश्यक प्रयोग हुन्छ। त्यसले उसको स्वास्थ्यमा असर गर्न सक्छ।
अबको केही दशकमा हामीसँग उपलब्ध एन्टिबायोटिक्सले हाम्रो शरीरमा काम गर्न छोड्छ र सानो घाउले पनि हाम्रो मृत्यु हुन्छ भन्ने अनुसन्धानले देखाइरहेको छ।
सानो घाउबाट पनि मानिसको मृत्यु! कसरी?
कुनै पनि एन्टिबायोटिक्स बन्न वर्षौं अध्ययन गर्नुपर्छ। वर्षैपिच्छे नयाँ नयाँ प्रकृतिका एन्टिबायोटिक्स बनाउन सकिंदैन। तर, रोग त घट्दैन। ती रोग कम गर्न कडा किसिमका एन्टिबायोटिक्स चाहिन्छ, त्यो वेला त्यस्ता एन्टिबायोटिक्स नबन्दा सामान्य रोगले पनि मानिस मर्न सक्छन्।
त्यही भएर रोग पहिचान नभई हचुवाका भरमा औषधि खानुहुन्न। त्यसैले राज्यले रोग पहिचानका लागि ठूलो लगानी गर्न आवश्यक छ।
अब प्रसङ्ग बदलौं, २०६७ सालमा हाइटीमा हैजाको महामारी फैलिएर १० हजारभन्दा बढीले ज्यान गुमाएका थिए। त्यसको दोष शान्ति मिसनमा गएका नेपाली सेनालाई दिइयो। नेपाली सेनामाथि लागेको त्यो आरोप झूटो सावित गर्न तपाईंले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो। यो विषयमा अलिकति भनिदिनुस् न।
सन् २०१० को अक्टोबरतिर म जापानबाट फर्केको थिएँ। टेकु अस्पतालमा झाडापखालाका बिरामी अत्यधिक आउँथे। ती बिरामीमा हैजाको अवस्था केकस्तो छ भनेर मैले अनुसन्धान गरेको थिएँ। अनुसन्धानले ती झाडापखालाका बिरामीमा हैजाको जीवाणु देखियो। त्यही समयमा हाइटीमा हैजाको महामारी फैलियो।
उनीहरूले त्यो महामारी फैलिनुको दोष नेपाली सेनालाई दिए। नेपालमा हैजा देखिएका वेला नेपाली सेना शान्ति सेनाका रूपमा हाइटी गए, उनीहरू बसेको ब्यारेकको चर्पीबाट हैजाको जीवाणु पानीमा मिसिएर महामारी फैलियो भन्ने उनीहरूको तर्क थियो।
हाइटीमा फैलिएको हैजाको ‘जीन’ नेपालसँग मिलेको उनीहरूको दाबी थियो। उनीहरूको दाबी आएपछि मैले नेपाल मात्रै होइन सँगसँगै भारत र बाङ्लादेशमा पनि हैजा छ भनेर प्रतिवाद गरें। उनीहरूले त्यो जीवाणुको ‘जीन’ अन्य देशसँग तुलना गरेका थिएनन्।
त्यो वेला नेपालमा मात्र होइन अन्य देशमा पनि हैजा फैलिएको थियो। अन्य देशका सेना पनि त्यहाँ मिसनमा गएका थिए। तर, त्यहाँ हैजा फैलँदा नेपालको हैजाको ‘जीन’ सँग मात्र तुलना गरियो। अन्य देशसँग तुलना गरेको भए अन्य देशको हैजाको जीवाणुको ‘जीन’ सँग पनि मिल्न सक्थ्यो भन्ने मेरो तर्क थियो। मैले अन्य देशको हैजाको जीवाणुको ‘जीन सिक्वेन्सिङ’ गर्न चुनौती दिएको थिएँ।
त्यो चुनौती विश्वकै प्रतिष्ठित इमर्जिङ इन्फेक्सस डिजीजमा छापियो। इम्बार्यो जर्नलमा पनि प्रतिवाद लेख छापिएको थियो। जर्नलमा लेख छापिएपछि उनीहरूले थप प्रतिवाद गरेनन्। त्यो हैजा नेपाली सेनाले फैलाएको भन्ने कुरा पनि पुष्टि भएन।
उनीहरूले मैले दिएको चुनौतीमा कुनै जवाफ नदिएपछि त्यो आरोप मात्रै भयो। त्यो कुरामा म सही छु भन्ने नै भयो।
अर्को प्रसङ्ग, नेपालमा सरुवा रोगको प्रकोप बढ्दै गएको छ। यसलाई नियन्त्रण गर्न राज्यले केकस्ता नीतिगत काम गर्नुपर्छ?
गर्नुपर्ने काम धेरै छ। १९९० सालमा बनेको सरुवा रोग अस्पताल जस्ताको तस्तै छ। त्यसको स्तरोन्नति गरिएको छैन। सरुवा रोगमा काम गर्न उच्चस्तरीय ल्याब, जनशक्ति र पूर्वाधार चाहिन्छ। राज्यले शुरूमा अस्पताल, उपकरण र जनशक्तिमा लगानी गर्नुपर्छ। शुरूमा यति काम गरेपछि मात्रै थप के गर्ने भन्न सकिन्छ। तर, विडम्बना नै भन्नुपर्छ ठूलाठूला महामारी थेगेको यो अस्पताल कसैको नजरमै परेको छैन।
सरुवा रोगको विषयमा यति धेरै काम गर्नुभएको छ। तर, कोभिडका वेला स्वास्थ्य मन्त्रालयको नेतृत्वले तपाईंलाई अस्पतालबाट मन्त्रालयतर्फ सरुवा गरे। यसरी तपाईंलाई निराश बनाउने काम हुँदै गर्दा पनि कसरी काम गर्ने जाँगर आउँछ?
सोच्दै गयो भने अप्ठ्यारो हुन्छ। म यस्ता कुरामा खासै ध्यान दिन्नँ। यस्तो विषयमा सोच्नुभन्दा बढी म आफ्नो काममा ध्यान दिन्छु। म यसमै खुशी छु।