मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो
दुई दिनदेखि लगातार परेको पानीका कारण मुस्ताङका भौतिक संरचनामा क्षति पुगेको छ। तिरी खोला थुनिएर बाढी आएको सूचना समयमै पाएकाले घर खाली गराएको हुँदा मानवीय क्षति भने भएको छैन।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ। गाउँपालिकाको केन्द्र समेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे काग खोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङका अनुसार बाढीले १० घर तथा होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिंड्ने पुल, दुई गाडी र विद्युत्का तीन पोल बगाएको छ।
“कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन,” उनले भने, “बाढीले कागबेनीको धर्मशाला पुरिएको छ। बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ।”
मुक्तिनाथबाट बगेर आउने काग खोला कागबेनीको बीचभागमा छ। यता, विद्युत्का पोल ढलेकाले विद्युत् आपूर्ति पनि बन्द छ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा जनप्रतिनिधिहरू उद्धारमा खटिएका छन्। तर, पान्डा खोलाको बाढीले भने सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ। कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ।
दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ। वर्षाका कारण मुस्ताङका अन्य खोलामा पनि पानीको सतह बढेको छ। मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्रले पछिल्लो २४ घण्टामा २५.८ मिलिमिटर वर्षा मापन गरेको छ। -रासस