माओवादीले सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलायो
नेकपा (माओवादी केन्द्र) ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले जनमत पार्टीलाई सरकारका सहभागी गराउने आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने जानकारी दिएका थिए।
जनमत पार्टीले अनितादेवी साहलाई मन्त्री बनाउने निर्णय गरिसकेको छ। सत्ता गठबन्धमा भए पनि जनमत पार्टी सरकारमा सहभागी हुन सकेको थिएन।
मन्त्री मोदीको कामकारबाही राम्रो भए पनि यसअघि नै जनमतलाई दिने तय भइसकेकाले फिर्ता बोलाउनु परेको जनाएको छ। त्यसमा मन्त्री मोदीले पनि सहमति जनाएको पौडेलले बताए।
बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको पछिल्लो अवस्था र शान्ति सुरक्षालगायतका विषयमा जानकारी गराएका थिए।