कांग्रेस बैठकमा प्रश्न- माओवादी नेतालाई किन जोगाइयो?
नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेकपा (माओवादी केन्द्र)का नेताहरूलाई जोगाएको भन्दै सरकारको आलोचना भएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेस सांसदहरूले विशेष गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीमाथि प्रश्न गरे। कांग्रेस नेता तथा कार्यकर्तालाई छानिछानी समात्ने गरेको र माओवादी नेता तथा कार्यकर्तालाई जोगाएको भन्दै कांग्रेस सांसदले आलोचना गरेका हुन्।
कांग्रेस संसदीय दलको बैठकमा आइतबारसम्म ५० जना सांसदले बोलेका छन्। त्यसमध्येका अधिकांशले सरकार र गृहमन्त्री श्रेष्ठको कार्यशैलीको विरोध गरेका छन्। नक्कली भुटानी शरणार्थी, बालुवाटार, सुन तस्करी लगायतका काण्डमा सरकारले माओवादी नेताहरूलाई जोगाएको कांग्रेस सांसदको आरोप छ।
नक्कली भुटानी शरणार्थी प्रकरणको शुरूआत रामबहादुर थापा गृहमन्त्री हुँदा भएको, छानबिनका क्रममा पटकपटक उनको नाम पनि आएको, तर उनीसँग सोधपुछ समेत नगरिएको भन्दै कांग्रेस सांसदले सरकारको आलोचना गरे। बैठकपछि कांग्रेस सांसद उदयशमशेर राणाले भने, “धेरै साथीहरूले भन्नुभयो- भुटानी शणार्थीको कुरा बादल गृहमन्त्री हुँदा शुरू भएको हो। उहाँको नाम पनि छानबिनका क्रममा आएको थियो। बादलमाथि किन छानबिन भएन?”
नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई हतकडी लगाउँदा थापालाई सोधपुछ समेत किन नगरेको भन्दै कांग्रेस सांसदले प्रश्न गरेका थिए। दुवै जना गृहमन्त्री हुँदा त्यो विषय उठेको भए पनि कांग्रेस नेतालाई पक्राउ गरिएको र थापालाई जोगाइएको उनीहरूको भनाइ थियो।
त्यस्तै, सुन तस्करी प्रकरणमा पनि कांग्रेस सांसदले सरकारमाथि प्रश्न गरेका छन्। यसअघि नौ किलो सुन तस्करीको विषयमा माओवादी नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएको भए पनि छानबिन नगरिएको कांग्रेस सांसदहरूको गुनासो थियो। महरा र उनका छोराले सुन तस्करीमा संलग्न गिरोहसँग पटकपटक फोन सम्पर्क गरेको तथ्यांक बाहिरिंदा पनि जोगाइएको भन्दै गृहमन्त्री र सरकारको आलोचना गरिएको छ।
त्यस्तै, अहिले सय किलो सुन तस्करी प्रकरणमा पनि माओवादी नेताहरूलाई जोगाउने खेल चलिरहेको कांग्रेस सांसदको आरोप थियो। सय किलो सुन तस्करीमा संलग्न व्यक्तिहरूसँग माओवादी नेता वर्षमान पुन र उनका छोरा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोराको उठबस देखिएको भए पनि छानबिनको दायरामा नल्याइएको भन्दै आलोचना भएको थियो।
“सुन तस्करीमा नाम बारम्बार आएको छ भने छानबिन हुनुपर्छ। तर, कांग्रेस कार्यकर्तालाई मात्र त्यो घेरामा राख्नु हुँदैन,” बैठकमा सांसदले उठाएका कुराबारे जानकारी दिँदै कांग्रेस नेता राणाले भने, “पूर्वाग्रही मात्रै होइन, एक किसिमले कांग्रेस नेतालाई ‘टार्गेट’ गरेको देखिएको छ भनेर बैठकमा कुरा उठेको छ।”
कतिपय सांसदले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्नुपर्ने माग गरेका छन्। “कांग्रेस नेता भटाभट पक्राउ पर्ने, माओवादी नेतालाई सोधपुछ पनि नहुने?,” बैठकपछि कांग्रेस सांसद सुनिल शर्माले भने, “सुन तस्करी काण्ड त गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर कुरा उठाएका छौं।”
कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले विभिन्न विषयमा कुरा उठेको बताए। “अनुशासन, मर्याादाका कुरा उठेका छन्। के गर्नुहुन्थ्यो, के गर्नु हुँदैनथ्यो भनेर कुरा उठेका छन्,” महतले भने, “सरकार पूर्वाग्रही हुँदैन र हुनु पनि हुँदैन।”
कांग्रेस बैठकमा सरकारी निकायले प्रतिशोध साँधेको भन्दै प्रश्न उठेको विषयमा मन्त्री महतले भने, “प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन। कुनै पनि संरचनाले प्रतिशोधका हिसाबले पेश हुनुहुँदैन।”
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि संसदीय दलको बैठकमा विभिन्न विषयमा गम्भीर कुरा आएको बताए। ५० जना सांसदले विभिन्न विषयमा कुरा उठाएको बताउँदै लेखकले भने, “धेरै विषयमा कुरा उठेको छ। सबै विषयलाई समेटेर महत्त्वपूर्ण प्रस्ताव पारित गर्छौं।”
सांसदहरूको बोल्ने क्रम जारी छ। केही सांसदले बाल्न बाँकी रहेकाले कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्नेछ। सोमबार बिहान ११ बजे पुनः बैठक बस्ने प्रमुख सचेतक लेखकले बताए।