रङ्गभेदको औपनिवेशिक धङधङी
अफ्रिकी मूलका लेखक कालेव अजुमा नेल्सनको ओपन वाटर उपन्यासले अझै उपनिवेशकालकै मानसिकतामा रहेको बेलायती समाजको रङ्गभेदी अनुहार उदाङ्गो पारेको छ।
अफ्रिकालाई ‘अन्धकार महादेश’ भन्ने पश्चिमाले त्यहाँका बासिन्दालाई बर्बर र असभ्य रूपमा प्रचार गरे। अनि तिनैलाई सभ्य बनाउने बहानामा त्यहाँका सुन, तेल लगायत बहुमूल्य स्रोत लुट्न लागिपरे। अफ्रिकीलाई होच्याउने यस्तो औपनिवेशिक कदम विरुद्ध कालान्तरमा त्यही महादेशका लेखकहरू सशक्त रूपमा अघि बढे।
यो अभियानको शानदार शुरूआत थियो, नाइजेरियाली लेखक चिनुवा अचेवेको उपन्यास राइटिङ ब्याक। त्यसयता उनकै कदम पछ्याइरहेका अफ्रिकी लेखक थुप्रै भइसके। पछिल्लो पुस्ता हुन्, कालेव अजुमा नेल्सन।
पैतृक थलो घाना रहेका नेल्सन बेलायतमा जन्मिए। त्यहाँ कालो वर्णकै कारण आफू सहितका अफ्रिकी आप्रवासीले भोगेको विभेद र हेलाहोचोको साक्षी रहे। यही विभेदको आख्यानीकरण हो, उनको उपन्यास ओपन वाटर। २६ वर्षे नेल्सनको युवा जोश र आक्रोश भेटिने यो उपन्यासको प्रस्तुति निकै कलात्मक छ। शब्दहरू पर्याप्त नलाग्न सक्छन् तर विम्ब-प्रतीक सहितका कलाहरूको मोहक सम्मिश्रण छ। त्यसैले कथावाचक दोहोर्याइरहन्छ, ‘शब्दहरू कमजोर हुन्छन्, भाषाले हामीलाई निराश बनाउँछ।’
नृत्य, फोटोग्राफी, सङ्गीतको निरन्तर अन्तर्घुलन छ उपन्यासभर। प्रेमी फोटोग्राफर छ र प्रेमिका नर्तकी। केन्द्रीय विषय प्रेम भए पनि त्यो अत्यन्त अप्ठेरो स्थितिबाट गुज्रिरहेको छ। स्वतन्त्रताको खोजीमा रहेका प्रेमीप्रेमिकालाई विगतदेखि वर्तमानसम्मका अभिघातले यसरी लखेटिरहन्छन् कि अन्तरङ्ग पलहरूमा पनि पीडाको सुस्केरा टुट्दैन। उनीहरूको स्वतन्त्रतामा तगारो बनेको छ गोराहरूको बाहुल्य रहेको, रङ्गभेदी बेलायती समाज। त्यसैले त कथावाचक भन्छ, ‘प्रेम गर्नु भनेको तैरिनु पनि हो, डुब्नु पनि।’
सन् २०२० को मध्यतिर विश्व कोभिड-१९ बाट आक्रान्त थियो। त्यही वेला काला जातिका जर्ज फ्लोयड अमेरिकामा गोरा पुलिस अधिकृतबाट विना कारण समातिए, उनलाई घाँटी अँठ्याएर मारियो। “मैले सास फेर्न सकिरहेको छैन,” मर्नुअघि फ्लोयड दोहोर्याइरहेका थिए। फ्लोयड अमेरिकाको मिनोसेटामा मारिए। नेल्सनको आख्यान पात्र दक्षिणी लन्डनको एउटा गल्लीमा उस्तै हविगतमा हुन्छ। ऊ जिउँदै छ तर सास फेर्न अप्ठेरो परिरहेको हुन्छ। अर्को पात्र ड्यानियलको मृत्यु नजिकबाट देखेको ऊ कसैगरी सहज रहन सक्दैन। कथावाचकका यी हरफले त्यही असहजता प्रस्ट्याउँछन्-
तिमी केवल एउटा शरीर हौ। तिम्रो शरीर तिम्रो नियन्त्रणमा छैन। उनीहरूले तिम्रो शरीरलाई जतिखेर पनि नियन्त्रणमा लिन सक्छन्।
तिमीलाई ऐंठन भइरहेको थियो। सास लिनका लागि तड्पिरहेका थियौ। तिम्रा गहभरि आँसु थियो। दबिएको मसिनो स्वरमा फुसफुसाइरहेका थियौ। त्यो रात तिमीले सपना देख्छौ- पुलिसले तिम्रो मृत्युगाथा लेखेको हुन्छ र तिमी फगत पादटिप्पणीमा सीमित हुन्छौ।
यी हरफ पढ्दा अमेरिकी लेखक ता नाहिसी कोट्सको गैरआख्यान विट्वीन दी वर्ल्ड एन्ड मी ताजा भएर आउँछ जहाँ कैयौं काला युवाको दर्दनाक भोगाइ र मृत्युको फेहरिस्त छ।
आप्रवासीहरूको स्थायी घर हुँदैन। उनीहरू विगत सम्झेर स्मृतिमा बाँच्न अभिशप्त हुन्छन्। यो कठोरता शरणार्थीहरूले भन्दा ज्यादा कसले बुझ्ला र? आफ्नै माटोबाट बेदखल भएका प्यालेस्टाइनीको पीडा अरूलाई के थाहा? मान्छेले घर किन छाड्छ? कवि वार्सन शिरेले भनेका छन्, ‘आफ्नै घर शिकारी शार्क माछाको मुख जस्तो हुन्नथ्यो भने कसैले पनि आफू जन्मेको थलो छोड्न चाहँदैनथ्यो।”
घर आधारभूत आवश्यकता हो तर ओपन वाटरको पात्रका लागि भने यो अकल्पनीय सुविधा प्रतीत हुन्छ। किनकि उसका निम्ति स्वतन्त्रता कोशौं पर छ। यही परिस्थिति झेलिरहेको उपन्यासको अर्को पात्र आप्रवासी हजामको दुखेसो छ, “यहीं बसियो, बालबच्चा जन्माइयो। पछि उनीहरूका पनि सन्तान भए। तर पनि यो ठाउँ घर जस्तो कहिल्यै महसूस हुँदैन।”
उपन्यासको प्रेमी पात्र पनि त्यो ठाउँको खोजीमा छ जसलाई घर भन्न सकियोस्। क्षणिक आनन्द नै सही, एकअर्काको शरीरलाई सुरक्षित घर ठानेर आलिङ्गनबद्ध रहन्छ जोडी। तर, विषमताबीच प्रेमिकालाई अरू दुःख दिन चाहँदैन प्रेमी, त्यसैले टाढिन्छ भारी मन लिएर। कथावाचक विस्मित भावमा आफैंलाई सोध्न पुग्छ, ‘कस्तो अवस्थामा निशर्त चोखो प्रेम टुट्न पुग्छ, हँ?’
बियोन्से, जे जेड आदिको गायनमा अफ्रिकी र्याप, ज्याज र हिपहपको मिश्रण छ। त्यसैले बेलायती सङ्गीतलाई समृद्ध बनाएको छ। उपन्यासकार नेल्सनले ज्याज सङ्गीतका जनक अफ्रिकी रहेको दाबी गरेका छन्। त्यसैले फ्याङ्क ओसन, जोन सिंगलटोन, जेम्स ब्राउन, अर्ल स्वेटरसर्ट, वाल्ट डिकर्सनका गीत-सङ्गीतका प्रसङ्गलाई निकै ओज दिएका छन्। जेम्स वाल्डविन, केई मिलर, साइदिया हार्तम्यान, तेजु कोल आदि लेखकका सन्दर्भले कथानक अझ सशक्त बनाएको छ।
नाचको वर्णन उस्तै शक्तिशाली छ। प्रेमिकाका वाणी यसरी गुन्जिन्छन्, “सास फेर्नकै निम्ति म नाच्छु तर सास फेर्न अप्ठेरो भइन्जेल नाच्ने गर्छु। ...यही नाचमा मेरो भूगोल छ। यहीं म आफ्नो सानो संसार बनाउन तल्लीन छु।”
उपन्यासमा कमै प्रयोग हुने द्वितीय पुरुष शैलीमा छ, ओपन वाटरकोे कथावाचन। पुनरावृत्ति नेल्सनको गोचर शैली हो जुन कतै पूरै वाक्य त कतै आंशिक अनुच्छेदमै भेटिन्छ। यसैगरी उनी पाठकको ध्यान तान्दै भन्नुपर्ने कुरा छिचोलेर सुनाउँछन्। शीर्षक लाक्षणिक छ र यसको अर्थ ‘बगिरहेको पानी’ भनी लगाउन सकिन्छ। तर, यो पानी खतरामुक्त छैन। उपन्यासको अन्त्यतिर लेखिएको छ, “बगिरहेको पानीमा तैरिरहँदा तिमीले मुख खोल्यौ कि त तिमी डुब्न सक्छौ। मुख खोलेनौ भने निस्सासिने खतरा हुन्छ। दुवै अवस्थामा तिमी डुबी मर्ने सम्भावना बढी हुन्छ।”
यसरी शीर्षकले पनि बेलायती भूमिमा अल्पसंख्यक काला जातिले भोगेको पीडातर्फ नै इङ्गित गर्छ। हरदिन सडक, कार्यस्थल अनि अन्य सार्वजनिक ठाउँमा भोग्दै आएका अपमान सम्झाउँछ। राजनीतिक उपनिवेशकाल सकिए पनि अल्पसंख्यकहरू गोरा जातिको मानसिक उपनिवेशबाट मुक्त नरहेको यथार्थ देखाउँछ।
डेढ सय पृष्ठको छरितो उपन्यासको विषयवस्तु अत्यन्तै खँदिलो र गहन छ। घटनाभन्दा अनुभूतिलाई महत्त्व दिने नेल्सनले त्यसैको बलमा बेलायती समाजको रङ्गभेदी अनुहार उदाङ्गो पारिदिएका छन्।