न्यायाधीशको नेतृत्वमा सुन तस्करीको छानबिन हुनुपर्छ: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सय किलो सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
सुन तस्करी प्रकरणलाई लिएर आइतबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन गर्नुपर्ने बताए। सुन तस्करीमा उच्च व्यक्ति नै संलग्न रहेको जिकिर गर्दै अध्यक्ष ओलीले भने, “यसको जरो कहाँ छ, टुप्पाटुप्पो मात्रै हेरेर हुँदैन।”
सरकारी कर्मचारीका नेतृत्वमा हुने छानबिन निष्पक्ष नहुने ओलीको भनाइ थियो। “सिगरेटबाट सुन आएको छ, ब्रेकसुबाट सुन आएको छ, कम्मरमा बाध्ने पेटीबाट पनि आएको छ, पानी तान्ने मोटरबाट पनि आएको छ। जुत्ता ल्याउँदा सुनै आउँछ,” अध्यक्ष ओलीले प्रश्न गरे, “गृहमन्त्री राजीनामा नगरेर कसरी रोस्टम गएर बोल्न सकेका छन्?”
सुन तस्करीमा सरकारमा संलग्न व्यक्ति नै संलग्न भएकाले उच्चस्तरीय छानबिन समितिको माग गर्दा सरकार तर्सिएको उनको भनाइ थियो। “सरकार किन पहिले नै तर्सिन्छ? पहिले नै किन ढोका बन्द गर्छ? सरकारको संलग्नता छैन भने निष्पक्ष छानबिन गर्नु दिनुप¥यो,” अध्यक्ष ओलीले भने, “बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन हुनुपर्छ। एसएसपीको नेतृत्वमा गरेर हुँदैन।”
सुन तस्करी छानबिनको कुरा गर्दा सरकारले तर्साउन खोजेको उनको आरोप थियो। कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्रीको राजीनामा मागेका कारण नक्कली शैक्षिक प्रमाणपत्रको बहानामा पक्राउ गरिएको उनको दाबी थियो। “एक कार्यकर्तालाई उजुरी हाल्न लगाएर पक्राउ गरिएको छ,” ओलीले भने, “अहिले किन नक्कली शैक्षिक प्रमाणपत्रको कुरा आयो? किनकि, सुन तस्करीमा गृहमन्त्रीको राजीनामा माग गरेकाले समातियो।”
तर, सुन तस्करीमा संलग्न गिरोहसँग फोन सम्पर्कमा रहेका नेताहरूसँग भने सोधपुछ समेत नगरिएको ओलीको भनाइ थियो। ओलीले प्रश्न गरे, “सुन तस्कर गिरोहसँग २३४ पटक लगातार संवाद कसरी हुन्छ? सोधपुछ गर्नुपर्दैन?”