अविरल वर्षाले हवाई उडान प्रभावित
गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन्।
वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। भारतको नयाँदिल्लीबाट आएको एअर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एअर चाइना र सिचुआन एअरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन्। साथै अन्य अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको तिवारीले बताए।
त्यस्तै, आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौं-तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ। विमानस्थलका अनुसार बुद्ध एअरका काठमाडौं-पोखरा रुटका तीन वटा र बुद्ध एअरकै काठमाडौं-तुम्लिङटारको एउटा हवाई उडान रद्द भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ।