रोनाल्डोले जिते अल नासरबाट पहिलो उपाधि
१० खेलाडीमा सीमित भए पनि अल नासरले अतिरिक्त समयको शुरूआतदेखि नै अल हिलाललाई दबाबमा राखेको थियो।
पोर्चुगलका विश्वचर्चित फूटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरबाट पहिलो उपाधि जितेका छन्। गए राति सम्पन्न अरब क्लब च्याम्पियन्स कपको फाइनल खेलमा प्रतिस्पर्धी अल हिलाललाई अल नासरले २-१ गोल अन्तरले पराजित गरेको थियो।
अल नासरको जितमा दुवै गोल रोनाल्डोले नै गरे। खेलको ७४औं र ९८औं मिनेटमा गोल गरेका हुन्।
खेलमा ५१औं मिनेटमा गोल गर्दै अल हिलालले अग्रता बनाए पनि अतिरिक्त समयमा रोनाल्डोले गरेको दोस्रो गोलको मद्दतमा अल नासर विजयी भएको हो। अल हिलालले निकै राम्रा अवसर पाए पनि ५१औं मिनेटपछि कुनै पनि प्रहारलाई गोलमा परिणत गर्न सकेन।
अल नासरका अब्दुलएलाह अल अमीरीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनु समेत परेको थियो। अल नासरकै नवाफ बूशालले म्याच अफिसियलसँग विवाद गरेपछि रातो कार्ड पाएका थिए। यद्यपि, उनी मैदानमा नभई बेन्चमा भएकाले अल नासरले खेलाडी गुमाउनु परेन।
१० खेलाडीमा सीमित भए पनि अल नासरले अतिरिक्त समयको शुरूआतदेखि नै अल हिलाललाई दबाबमा राखेको थियो। अतिरिक्त समयको दोस्रो हाफमा घुँडामा चोट लागेपछि रोनाल्डो खेल्न नसक्ने भएका थिए। उनले पनि मैदान छोडे। यद्यपि उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार ‘गोल्डेन बूट’ पाए।
तर, साउदी प्रो लिग अन्तर्गत सोमबार हुने अल इत्तिफाक विरुद्ध खेलमा भने रोनाल्डो चोट निको नभए अल नासरलाई अप्ठारो पर्न सक्छ।
सन् २०२० यता अल नासरको यो पहिलो उपाधि हो। रोनाल्डोको हकमा पनि सन् २०२१ को मे महीनामा युभेन्टसबाट कोपा इटालिया जितेपछि यो पहिलो उपाधि हो।