नाम जुध्दा विमानस्थलबाट फर्काएर हिरासतमा
नाम जुधेका कारण दुई जना चिनियाँ नागरिकले एक दिन सीआईबीको हिरासतमा बस्नु परेको छ।
चिनियाँ नागरिक ली जियाइलियन र लिउ फुयान साउन २६ गते काठमाडौंबाट चीन जाँदै थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्न लाग्दा दुवै जनालाई रोकियो।
त्यसपछि उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लियो। केही समयको केरकारपछि उनीहरू सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै राजस्व अनुसन्धान विभागमा लगियो।
तर, विभागले उनीहरूलाई जिम्मा लिन अस्वीकार गर्यो। विभागले सुन तस्करी छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएकाले पक्राउ परेका व्यक्ति पनि उतै बुझाउन भन्यो।
अध्यागमनको टोलीले दुवै जना चिनियाँ नागरिकलाई सीआईबीको जिम्मा लगायो। उनीहरू सुन तस्करी संलग्न रहेको भन्दै हिरासतमा राखियो।
एक रात सीआईबीको हिरातमा बसेका उनीहरूको संलग्नता नदेखिएपछि आज रिहा गरिएको छ। नेपाल प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सुन तस्करीमा दुवै जनाको संलग्नता नदेखिएको बताए। “अध्यागमन विभागले नाम जुधेर शङ्का लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो,” कठायतले भने, “सुन तस्करी प्रकरणमा उनीहरूको संलग्नता नदेखिए पछि रिहा भएका छन्।”
साउन ३ गते हङकङबाट आएको करीब सय किलो सुन त्रिभुवन विमानस्थलबाट जाँच पास भएपछि राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो। यसमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्।
अहिले सुन तस्करी प्रकरणको सीआईबीले अनुसन्धान गरिरहेको छ। (राससको सहयाेगमा)