मतदान मार्फत जनप्रतिनिधिको मूल्याङ्कन गर्दै जनमत पार्टी
जनमत पार्टीले आफ्ना स्थानीय तहका जनप्रतिनिधिको मतदान मार्फत मूल्याङ्कन शुरू गरेको छ।
स्थानीय तहमा पार्टीद्वारा प्रकाशित मतदाता नामावलीमा नाम भएका सदस्यले पार्टीको कार्ड सहित मतदान गर्न जनमतले आग्रह गरेको छ। जनमतले यसलाई ‘राइट टु रिकल’ को आन्तरिक अभ्यासका रूपमा लिएको जनाएको छ।
आफ्ना पार्टीका नेता स्थानीय तहमा निर्वाचित भएपछि कति काम भयो, उनीहरूको काम गराईबाट नागरिक सन्तुष्ट छन् कि छैनन् तथा उनीहरूको व्यवहार कस्तो छ लगायत विषयमा मूल्याङ्कन गर्न पार्टीभित्र मतदान गर्ने प्रक्रिया अपनाइएको प्रवक्ता शरदसिंह यादवले बताए।
“स्थानीय तहमा जितेका जनप्रतिनिधिले गरेका कामका विषयमा मतदान हुन्छ, प्रतिनिधिले मतदान गर्छन्, कुन जनप्रतिनिधिलाई नागरिकले रुचाए वा कुनलाई रुचाएनन् त्यो मतदानबाटै थाहा हुन्छ,” यादवले भने, “राइट टु रिकल भनेको जनप्रतिनिधि फिर्ता बोलाउने हो तर त्यो हाम्रो संविधानमा छैन, कानून संशोधन गरेर बनाउन सक्ने अधिकार पनि नभएकाले मतदानमा जसको कमजोर नतीजा आउँछ उसलाई सुध्रिने मौका दिने, सचेत गराउने, त्यति पनि नभए पार्टीबाट निकाल्नेसम्मको अवस्था आउन सक्छ।”
२०८० वैशाख ३० गतेसम्म पार्टीको सदस्यता लिएका सबै सक्रिय सदस्यले मतदान गर्न पाउने नियम छ। मतपेटिका र स्थानीय तहका जनप्रतिनिधिको नाम भएको मतपत्र सहितको निर्वाचन आयोगको तरीका अनुसार नै मतदान प्रक्रिया हुने प्रवक्ता यादवले बताए।
स्थानीय तहको चुनावमा जनमत पार्टीका तर्फबाट दुई पालिका अध्यक्ष, एक उपाध्यक्ष र १९ वडाध्यक्ष सहित ९७ जनप्रतिनिधि निर्वाचित भएका थिए।