सुन काण्डमा बोल्दा सुनिल शर्मालाई समातियो: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले करीब १०० किलो सुन तस्करी प्रकरणका विषयमा बोल्दा सांसद सुनिल शर्मालाई पक्राउ गरिएको जिकिर गरेका छन्।
भक्तपुरमा-२ मा शनिबार आयोजित कांग्रेसको क्षेत्रीय सभालाई सम्बोधन गर्दै डा. कोइरालाले सांसद शर्माले गलत गरिएको भेटिए कारबाही हुनुपर्ने तर प्रतिशोध साँध्न नहुने बताए। “सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो। उहाँका गल्ती-कमजोरीहरू होलान्, त्यसको छानबिन र कारबाही हुनुपर्छ,” डा. कोइरालाले भने, “तर, प्रतिशोधको भावनाले अघि बढ्ने हो भने देशलाई कहाँ पुर्याउन खोजिएको हो? यो अहिले गम्भीर विषय हो।”
कांग्रेस सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र लिएको कसूरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले साउन २५ गते पक्राउ गरेको थियो। उनको आईएस्सीको प्रमाणपत्र नक्कली रहेको सीआईबीको अनुसन्धानमा देखिएको थियो। उनीसँगै आठ जना चिकित्सक पक्राउ परेका थिए।
सीआईबीले थुनामा राखेर अनुसन्धान गर्न साउन २६ मा जिल्ला अदालत, काठमाडौंमा पेश गरेको थियो। तर, अदालतले भने सांसद शर्मालाई तारेखमा रिहा गर्न र अन्यलाई थुनामा राख्न अनुमति दिएको थयो।
कांग्रेस नेता कोइरालाले भने शर्मालाई प्रतिशोध साँध्न पक्राउ परेको जिकिर गरेका हुन्। “राजनीतिमा जब प्रतिशोधको भावना शुरू हुन्छ, तब राजनीति राजनीति नै रहन्न,” कोइरालाले भने, “त्यसले व्यक्तिलाई क्षति गर्छ, दलहरूलाई बिगार्छ र देशलाई पनि क्षति पुर्याउँछ।”
देश अराजकतातिर गइरहेको उनको भनाइ थियो। “अहिले देश अराजकतातिर गइरहेको छ। काण्डैकाण्डले देशलाई विग्रहतिर धकेलिरहेको छ,” कोइरालाले भने, “सुन काण्डले सबै काण्डहरूलाई बिर्साइदिएको जस्तो लागिरहेको छ।”