हुलाकी राजमार्गले पानी छेकिंदा खेत जलमग्न
हुलाकी राजमार्गका कारण कैलालीको टीकापुर र भजनी नगरपालिका क्षेत्रका सयौं बिघा खेत जलमग्न बनेका छन्।
यो क्षेत्रमा हुलाकी राजमार्ग जमीनभन्दा उँचो छ। जसले गर्दा राजमार्ग बाँध जस्तो बनेकाले उत्तरतिरको खेत जलमग्न बन्ने गरेको छ। राजमार्ग बनेयता वर्षेबाली लगाउन छोडेको स्थानीय मग्रु डगौरा थारू बताउँछन्।
टीकापुर नगरपालिका-७ कुन्तीपुरका थारूको तीन कट्ठा खेत पनि जलमग्न बनेको छ। “हुलाकी सडक बनेदेखि वर्षेबाली भित्र्याउन पाइएको छैन। वर्षात्को वेला खेतमा डुङ्गा चलाएर वारपार गर्नुपर्छ, कसरी खेती गर्नु?” उनी गुनासो गर्छन्।
सडक खेतभन्दा अग्लो भएकाले पानीको निकास पनि छैन। केही दिनयता यो क्षेत्रको खेत तलाउ जस्तै बनेको छ।
दक्षिणमा बनेको बस्तीभन्दा उँचो हुलाकी राजमार्ग।
अर्का स्थानीय पशुपति जैसी पनि वर्षेबाली लगाउन छोडेको बताउँछन्। “तीन वटा नदी मोहना, पथरैया र कर्णालीको पानी खेतमा आउँछ,” जैशी भन्छन्, “२०७१ सालदेखि वर्षेबाली लगाएको छैन।”
हुलाकी राजमार्गका कारण पानीको निकास नहुँदा तीनै नदीको पानी खेतमा आउँछ। २०७८ कात्तिक २ गते आएको बाढीले टीकापुर नगरपालिका-५ साहिपुरमा कर्णाली नदीले बाँध भत्काउँदा चार वटा वडाका अधिकांश भूभाग डुबानमा परेका थिए।
वर्षात्मा हरेक वर्ष विस्थापित हुनुपरिरहेको उनी बताउँछन्। “हरेक वर्ष बाढी आउँछ, हुलाकी राजमार्गले छेकेर राख्छ,” जैशी भन्छन्, “चार वडाका सयौं बिघा खेतमा ताल बन्छ।”
वर्षात्मा अधिकांश खेत तलाउ जस्तै भरिने भएकाले पनि धेरैले वर्षे खेती नगरेको भजनी बजारका प्रेम चौधरी बताउँछन्। कसैले खेती गरिहाले पनि अन्नपात केही नबच्ने उनी बताउँछन्।
बाढीको डरले बाँझो छोडिएको खेत।
भजनीकै हरिबहादुर चौधरीले गत वर्ष धान रोपेका थिए। तर, भित्र्याउन नपाएको उनी बताउँछन्। “दुई बिघामा रोपेको धान बाढीले बगायो,” उनी भन्छन्, “पोहोर साल धानको दाना देख्न पाइनँ, त्यसैले यो वर्ष बाँझै छोडें।”
हुलाकी राजमार्गका कारण भजनीको करीब एक हजार बिघा जमीन बाँझो रहेको भजनी नगरपालिकाका मेयर केवल चौधरी बताउँछन्। राजमार्गका कारण जग्गा भएर पनि किसान समस्यामा परेको मेयर चौधरीको भनाइ छ। “यो समस्या समाधान गर्न योजना त बनाएका छौं तर नगरपालिकाको बजेटले पुग्दैन,” मेयर चौधरी भन्छन्, “प्रदेश र संघीय सरकारले हेर्नुपर्छ।”
कर्णालीको त्रास
टीकापुर नगरपालिकाकी कुन्तीदेवी चौधरीको घरआँगनबाटै कर्णाली बग्छ। वर्षा याममा उनलाई कर्णाली नदीको सुसाहटले निद्रा नै पर्दैन। पानी पर्न थालेपछि राति चार-पाँच पटक कर्णाली नदीतिर नजर लगाउने गरेको उनी बताउँछिन्।
गत वर्ष कात्तिकमा आएको बाढीले जमीन बगाएको थियो। यस पटक पनि कटान भइरहेको उनी बताउँछिन्।
वर्षा शुरू भएपछि जलमग्न बनेको खेत।
त्यस्तै, कृषक धनसिंह साउँद करीब २५ देखि ३० बिघामा धान खेती गर्छन्। उनको खेत पनि कर्णाली नदीकै आसपासमा छ। गत वर्षको बाढीले अधिकांश धान सखाप पारेको उनी बताउँछन्।
कर्णाली नदीमा आउने बाढीका कारण हरेक वर्ष ठूलो नोक्सानी बेहोर्नुपरेको उनी सुनाउँछन्। “एकातिर कृषियोग्य जमीन बर्सेनि नदीमा परिणत हुँदै गएको छ, अर्कातिर वर्षात्को समयमा राति सुत्न सकिन्न,” उनी भन्छन्।
नदीमा तटबन्ध निर्माणका लागि स्थानीयदेखि संघीय सरकारलाई गुहारे पनि कसैले वास्ता नगरेको उनी सुनाउँछिन्। उनी भन्छन्, “सरकारले ध्यान नदिंदा धेरै किसानको हातमा जग्गाको लालपुर्जा त छ तर खेतमा नदी बगिरहेको छ।”