नेपालले अर्को महीना टी-२० चतुर्देशीय शृङ्खला खेल्ने
नेपालले अर्को महीना टी-२० महिला चतुर्देशीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ।
मलेशियामा हुने प्रतियोगितामा नेपालसँगै कुवेत, हङकङ र मलेशियाले प्रतिस्पर्धा गर्नेछन्। हरेक टोलीले एकअर्कासँग एक-एक खेलमा प्रतिस्पर्धा गर्नेछ।
लिग चरणको प्रतिस्पर्धामा शीर्ष दुई टोलीबीच फाइनल हुनेछ। फाइनल खेल भदौ ९ गते हुनेछ।
त्यसअघि नेपालले भदौ ५ मा हकङकङसँग, भदौ ६ मा कुवेत र भदौ ८ मा मलेशियासँग प्रतिस्पर्धा गर्नेछ।
अहिले नेपाली टोली आईसीसी टी-२० विश्वकपको एशिया छनोट प्रतियोगिताको तयारीमा छ। त्यसैको तयारीका क्रममा चतुर्देशीय शृङ्खलामा प्रतिस्पर्धा गर्न लागेको हो।
टी-२० विश्वकप छनोट प्रतियोगिता भदौ १४ देखि २१ गतेसम्म मलेशियामै हुँदै छ। प्रतियोगिताका उत्कृष्ट दुई टोली टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्।
एशिया छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रुविना क्षेत्रीको नेतृत्वमा नेपाली टोली घोषणा गरेको छ। नेपाली राष्ट्रिय टोलीमा सीता राना मगर, इन्दु वर्मा, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजल श्रेष्ठ, रुबी पोद्दारर, अप्सरा बेगम, अस्मिता कर्माचार्य र खुशी डंगोल छन्।