देशभरका २२ नदीमा तीन दिन बाढीको जोखिम
देशभरका २२ वटा नदीमा आगामी तीन दिन बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशभा विभिन्न भागमा अत्यधिक वर्षाको सम्भावना रहेको छ। जसले गर्दा नदी तथा खोलामा पानीको सतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी जलाधार क्षेत्रका सप्ताकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीमा बाढीको सम्भावना रहेको छ। त्यस्तै, नारायणी जलाधार क्षेत्रका नारायणी, त्रिशुली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा बाढीको जोखिम रहेको छ।
कर्णाली जलाधार क्षेत्रका कर्णाली, भेरी र पश्चिम सेतीमा पानीको सतह बढ्ने भएको छ। महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा पनि आगामी तीन दिन पानीको सतह उल्लेख्य मात्रामा बढ्ने आकलन गरिएको छ।
यीसँगै शनिबार देशभरका खोलानालामा पनि बाढीको सम्भावना रहेको छ। त्यस्तै, आइतबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। सोमबार पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका खोला तथा नदीमा बाढी आउने आकलन छ।
आगामी तीन दिन बाढी र पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।