पाँच दिनदेखि सुदूरका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध
कैलालीको बूढीतोलामा गएको पहिरोले सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने राजमार्ग पाँच दिनदेखि अवरुद्ध छ।
साउन २२ गते भीमदत्त राजमार्गको बूढीतोलामा पहिरो गएको थियो। करीब ४०० मिटर लामो पहिरो जाँदा राजमार्गमा क्षति भएको छ। पहिरोका कारण १०० मिटर राजमार्ग पूर्ण रूपमा क्षति भएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरले जनाएको छ।
दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ। तर, पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको छ। पहिरो पन्छाएर सडकमा आवागमन सुचारु बनाउने काम जारी रहे पनि निरन्तरको वर्षाले काम प्रभावित भइरहेको सडक डिभिजन कार्यालय, महेन्द्रनगरका इन्जिनीयर हरिप्रसाद सुवेदीले बताए।
“गएको पहिरो र भासिएको सडकखण्डको ८० प्रतिशत भागलाई आवागमन गर्न सकिने बनाइसकेका छौं,” सुवेदीले भने, “पूरै पहिरो पन्छाई बाटो सुचारु गर्न वर्षामा भर पर्नुपर्ने देखिएको छ।”
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई जोड्ने एक मात्र यो सडक अवरुद्ध बन्दा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ। योसँगै खाद्यान्न, औषधि, साग, तरकारी लगायत उपभोग्य सामानको सहज आपूर्तिमा समस्या हुन थालेको छ।
बाटो अवरुद्ध हुँदा ठूलो संख्याका मालवाहक यातायातका साधन बीच बाटोमै रोकिएका छन्। यो राजमार्गमा दैनिक साना-ठूला गरी दुई हजारभन्दा बढी यातायातका साधनको अवागमन हुने गर्छ।