‘डेंगी दोस्रो पटक लाग्दा झन् सिकिस्त बनाउँछ’
‘अत्यधिक मात्रामा पेटमा पीडा भयो, गिजा र नाकबाट रगत आयो, तारन्तार बान्ता भइरह्यो भने डेंगीले जटिलता निम्त्याउँदै छ भन्ने बुझ्नुपर्छ।’
देशभर फैलिंदै गएको डेंगीले प्रकोपको रूप लिएको छ। २०६१ सालमा नेपालमा पहिलो पटक देखिएको डेंगी २०७३ सालयता बढ्दै आएको छ।
त्यसको तीन वर्षपछि २०७६ सालमा डेंगीको प्रकोप ५६ जिल्लामा फैलिएको थियो भने १२ जनाले ज्यान गुमाएका थिए। कोरोनाभाइरस महामारीका वेला २०७७ र २०७८ सालमा डेंगीको प्रकोप देखिएन।
तर, २०७९ सालमा डेंगीको प्रकोप ७६ जिल्लामा फैलियो। ५४ हजार ७८४ जना संक्रमित हुँदा ८८ जनाको ज्यानै गयो। २०६१ सालयता डेंगीबाट मृत्यु हुनेको संख्या यही नै उच्च हो। यो वर्ष पनि डेंगीको प्रकोप उच्च हुने स्वास्थ्यकर्मीको आकलन छ।
पछिल्ला वर्ष डेंगीको प्रकोप किन फैलियो, यसबाट कसरी बच्ने लगायतका विषयमा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग हिमालखबरका लागि सागर बुढाथोकीले गरेको कुराकानीः
डेंगीको प्रकोप शुरू हुन थालेपछि यो रोग सार्ने लामखुट्टेबारे चर्चा हुन्छ। अन्यभन्दा डेंगी सार्ने लामखुट्टे कसरी फरक छ?
एडिस जातको लामखुट्टले टोक्दा डेंगी हुन्छ। यो लामखुट्टेको फरक आनीबानी र व्यवहारले नै डेंगी नियन्त्रण गर्न चुनौती थपिएको छ।
पहिले पहिले लामखुट्टेको टोकाइबाट बच्न राति झुल लगाएर सुत्थ्यौं। जसको कारण मलेरिया र कालाजर जस्ता रोगबाट बच्थ्यौं। तर, एडिस जातको लामखुट्टे खासगरी सूर्योदय भएपछि र सूर्यास्त हुनुअघि सक्रिय हुन्छ। आम मानिस काममा व्यस्त भएको वेला टोक्ने भएकाले पनि धेरैले थाहा पाउँदैनन्।
यो लामखुट्टे नजिक आउँदा ध्वनि सुनिन्न किनकि दिउँसो अन्य वस्तुको आवाज चर्को हुन्छ। सामान्यतया यो लामखुट्टे मानिसको अगाडि आएर नाच्दैन। यो आएको र शरीरमा बसेको देखिन्न। चिरिक्क टोकेर चिलाइसकेपछि मात्र थाहा हुन्छ। टोक्ने समयमा यति धेरै ‘एग्रेसिभ’ हुन्छ कि एक जनालाई मात्र टोकेर सन्तुष्ट हुँदैन।
यो लामखुट्टे दिनमा मात्र सक्रिय हुनुको कारण के हो?
यो विषयमा म पनि खोजिरहेको छु। केही अनुसन्धानले जहाँ बत्ती बालिएको छ, त्यहाँ राति पनि टोक्छ भनेको छ। राति टोक्दै नटोक्ने भन्ने होइन तर यो लामखुट्टे रातभन्दा दिनमा सक्रिय हुने कुरा अनुसन्धानमा उल्लेख छ।
रातमा यसले मानिस जस्तै आराम गर्ने हो कि अथवा रातमा यसले नदेख्ने हो कि भन्ने विषयमा भने धेरै कुरा आइसकेको छैन।
डेंगीको उपचार छैन भनिन्छ तर पनि मानिसहरू औषधि खाइरहेका हुन्छन्। त्यसको असर कस्तो हुन्छ?
वैज्ञानिक रूपमा पुष्टि नभईकन औषधि खान सल्लाह दिइँदैन। यसको उपचार छैन नै। डेंगीले सामान्यतया धेरै मानिसलाई गाह्रो पार्दैन। डेंगी भएर अस्पताल भर्ना भएपछि लक्षणको आधारमा औषधि चलाउने गरिन्छ। तर, भाइरसलाई मार्ने औषधि भने हुँदैन।
सामान्यतया भाइरल इन्फेक्शनले सीमित अवस्थासम्म दुःख दिन्छ। त्यसपछि ब्याक्टेरियल इन्फेक्शन हुन्छ या त त्यसले अन्य समस्या गराउँछ। यस्ता समस्या भएपछि भने उपचार मार्फत व्यवस्थापन गर्नुपर्छ।
सामान्यतया डेंगी भएको मानिसले आफू उपचार गर्ने अवस्थामा पुगेको कसरी थाहा पाउने?
अत्यधिक मात्रामा पेटमा पीडा भयो, गिजा र नाकबाट रगत आयो, तारन्तार बान्ता भइरह्यो भने डेंगीले जटिलता निम्त्याउँदै छ भन्ने बुझ्नुपर्छ। यो अवस्थामा अस्पताल गएर ‘अल्ट्रासाउन्ड’ गर्दा पेट तथा फोक्सोमा पानी जमेको, कलेजो सुन्निएको हुन्छ।
यो अवस्था आउनु भनेको ‘क्रिटिकल फेज’ हो। यो अवस्थामा बिरामी बेहोस हुने र रक्तस्राव हुने गर्छ। यो अवस्था पार गर्यो भने बिरामीले डेंगी जित्न सक्छ।
डेंगी भएर टेकु अस्पताल आएका बिरामीमा केकस्ता समस्या देख्नुभयो?
अस्पताल भर्ना भएका हरेक मान्छेले डेंगी शत्रुलाई पनि नहोस् भन्थे। ‘औषधि खानु हुन्न’ भन्दाभन्दै दुखाइ कम गर्ने औषधि खान्थे। धेरैजसो मानिस पीडा सहन नसकेर रुन्थे। यसले अधिकांशलाई यसरी गलाएको थियो कि सामान्य कोल्टो फेर्न पनि सक्दैनथे। खाना रुच्दैनथ्यो। डेंगीका कारण एक सातामा नै १० केजीसम्म तौल घटेका मानिस धेरै थिए। कतिपयले त बाँच्ने आश पनि मारेका थिए।
बाहिरबाट देख्दा सामान्य ठाने पनि डेंगी भएर अस्पताल भर्ना भएका मानिसको अवस्था साँच्चिकै दर्दनाक थियो। अस्पतालबाट डिस्चार्ज भएको लामो समयसम्म पनि उनीहरू आफ्नो दैनिकीमा फर्कन सकेका थिएनन्।
एक वर्षअघि डेंगीको कारण ८८ जनाको मृत्यु भयो। ज्यान गुमाउनेहरू हेर्दा अधिकांश युवा र काम गर्ने उमेर समयका थिए। यो कत्तिको स्वाभाविक हो?
कतिपय युवाको रोगप्रतिरोधी क्षमताले डेंगी भाइरस विरुद्ध बलियोसँग प्रतिकार गर्छ, त्यसले आफैंलाई हानि गर्छ। मुख्य कारण यो हो। त्यस्तै, डेंगी पुनःसंक्रमण भएको अवस्थामा पनि यस्तो हुन सक्छ। तर, योभन्दा अघिल्लो वर्ष डेंगी पुनःसंक्रमण भयो या भएन भन्ने कुरा निर्क्योल गर्न सकिएन।
दोस्रो पटक डेंगी भयो भने बिरामीमा जटिल अवस्था आउँछ भन्न खोज्नुभएको हो?
डेंगीका चार वटा विषाणु (सेरोटाइप) हुन्छन्, जसलाई ‘डेन वान’, ‘डेन टू’, ‘डेन थ्री’ र ‘डेन फोर’ नाम दिइएको छ। नेपालमा डेंगीका चार वटै जीवाणुले संक्रमण गराइसकेका छन्।
कसैलाई पहिलो पटक एउटा सेरोटाइपले संक्रमण गराएको छ र दोस्रो पटक अर्को सेरोटाइपले संक्रमण गराएको छ भने त्यो व्यक्तिलाई पहिलाभन्दा जटिल अवस्था आउँछ। एकै व्यक्तिलाई फेरि संक्रमण भयो भने पहिलेभन्दा फरक सेरोटाइपले संक्रमण गराउने सम्भावना बढी हुन्छ। पहिलेको सेरोटाइप भएको लामखुट्टेले टोक्यो भने प्रतिरोधी क्षमताले जित्न सक्छ। किनकि शरीरले त्यस विरुद्ध लड्ने ‘एन्टिबडी’ बनाएको हुन्छ।
२०७६ सालमा धरानमा ‘सेरोटाइप-२’ ले संक्रमण गराएको थियो। त्यो वेला संक्रमित भए पनि धेरै मानिस सिकिस्त थिएनन्। २०७९ सालमा धेरै मानिसलाई डेंगीले सिकिस्त बनायो। डेंगीले धेरैलाई रक्तस्राव गराएको थियो। अचेत भएर अस्पताल आउने बिरामीको संख्या पनि धेरै थियो। त्यस्तै, धेरै जनाको मृत्यु पनि भयो।
पहिलेभन्दा बढी सिकिस्त र मृत्युको संख्या बढेपछि २०७६ सालको भन्दा फरक सेरोटाइपले संक्रमण गराएको कि भनेर आशङ्का गरेको थिएँ तर कुन सेरोटाइपले संक्रमण गरायो भन्ने विषयमा अनुसन्धान भएन। त्यसपछि अनुसन्धाताले २०७९ सालमा ‘डेन वान’ र ‘डेन थ्री’ सेरोटाइपले संक्रमण गराएको भनेर अनुसन्धानमूलक लेखहरू जर्नलमा प्रकाशित गरे। यही कुरा पहिले नै थाहा भएको भए डेंगी विरुद्ध लड्न तयारी गर्न सकिन्थ्यो।
जब जब डेंगी लगायत अन्य सरुवा रोग फैलिन्छन्, त्यसको मुख्य दोष जलवायु परिवर्तनलाई दिइन्छ। यस्ता संक्रामक रोग फैलिनुको मुख्य कारण जलवायु परिवर्तन मात्र हो त?
चिकित्साशास्त्रको अध्ययन गर्ने वेलादेखि नै जलवायु परिवर्तनबारे सुन्दै आएको छु। अहिले हरेक समस्याको कारण जलवायु परिवर्तन भन्ने गरिएको छ।
यस्ता संक्रामक रोग फैलिने अन्य कारण पन्छाएर जलवायु परिवर्तनलाई मात्रै दोष लगाउनु भनेको समस्याको हल नखोज्ने प्रवृत्ति हो। जलवायु परिवर्तन निरन्तर रहेको सत्य हो। तर, यी सँगसँगै यस्ता प्रकोप नियन्त्रण गर्न के गरेका छौं भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।
यस विषयमा मेरो अर्को पनि तर्क छ। यस्ता कीटजन्य रोग फैलिनुको कारण जलवायु परिवर्तन त हो नै, योसँगै यस्ता रोग सार्ने लामखुट्टेले आइपर्ने परिस्थितिसँग लड्न आफूलाई क्षमतावान् बनाएको छ। यस्ता समस्या बढ्दा चिसो ठाउँमा बस्नका लागि लामुखुट्टेले क्षमता विकास गरेको हुन सक्छ भन्नेतर्फ पनि सोच्नुपर्छ।
उदाहरणका लागि तराईको कुनै ठाउँमा जन्मे-हुर्किएको व्यक्ति चिसो ठाउँमा गयो भने शुरूआतमा गाह्रो होला। तर, बिस्तारै बिस्तारै त्यो ठाउँमा बस्न सक्ने हुन्छ। लामखुट्टेको हकमा पनि त्यही भएको पो हो कि!
जनघनत्व र यातायातका कारण यस्ता कीटहरू एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्छन्। उनीहरू यात्रा गर्दै जहाँ पुग्छन्, त्यहाँको वातावरणमा बाँच्ने क्षमता विकास गर्छन्। अहिले पहाडी तथा हिमाली जिल्लामा डेंगी सार्ने लामखुट्टे पुग्नुको कारण यातायातको विस्तार हो। त्यसैले डेंगी बढ्नुको कारण जलवायु परिवर्तनलाई मात्रै दिइनु हुन्न।
जनस्वास्थ्यविज्ञहरू ‘रोग लागेर उपचार गर्नुभन्दा लाग्न नदिने काम गर्नुपर्छ’ भनेर पैरवी गर्छन्। डेंगी लाग्न नदिन के गर्न सकिन्छ?
यस्ता संक्रामक रोग लाग्नै नदिने धेरै किसिमका उपाय हुन्छन् जुन हामीले अपनाएका छैनौं। सामान्यतया डेंगीको संक्रमणलाई रोक्नु छ भने लामखुट्टेको जीवनचक्र बुझ्नुपर्छ। लामखुट्टेले पानीमा अन्डा पार्छ। अन्डालाई पानीमा पहिचान गर्न गाह्रो हुन्छ तर लार्भा र प्युपालाई ध्यान दिएर हेर्ने हो भने देखिन्छ। लामखुट्टेले अन्डा पारेपछि प्युपा र लार्भाको अवस्थामा पुग्छ, त्यो वेलामा त्यसलाई नष्ट गर्यो भने डेंगी फैलिन्न।
यस्ता संक्रामक रोग नियन्त्रण गर्न सरसफाइ, जनघनत्व व्यावस्थापन लगायत धेरै काम गर्नुपर्ने हुन्छ। प्रविधि, जनशक्ति र नियन्त्रण गर्ने सोच भयो भने डेंगी जस्ता रोग खासै टाउको दुखाइ हैन।