दुई कैदीको हत्या आरोपमा १० प्रहरीसहित १५ जना पक्राउ
संखुवासभामा दुई जना कैदीको हत्यामा संलग्न रहेको आरोपमा १० प्रहरीसहित १५ जनालाई पक्राउ गरिएको छ।
खाँदाबारीस्थित जिल्ला कारागारमा कुटपिट हुँदा सङ्खुवासभाको मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते ज्यान गएको थियो। दुवै जना कैदीको कुटपिटबाट मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए।
कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदी विनोद र आकाशलाई साउन २३ गते राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो। दुवै जनालाई भित्र पठाएको थियो।
त्यसपछि उनीहरूलाई कुटपिट गरिएको पाइएको छ। कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको छ। कारागारमा रहेको सीसीटीभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो।
फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरू गरिएको प्रहरी नायब उपरीक्षक गोदारले बताए। पीडित पक्षको किटानी जाहेरी आएपछि म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने उनको भनाइ छ।
कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित पाँच कैदीबन्दी संलग्न भएको देखिएको छ। नियन्त्रणमा लिएका १५ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कारागारको सुरक्षामा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा २० प्रहरी परिचालन गरिएका थिए। घटनामा प्रहरीको संलग्नता देखिएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको हो।
यो घटना कारागारको ‘ए’ ब्लकमा भएको हो। त्यस ब्लकमा ६६ कैदीबन्दी रहेको थिए।
घटनापछि जिल्ला सुरक्षा समितिले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा साउन २४ मा तीन सदस्यीय छानबिन समिति बनाएको थियो। समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनाल र प्रशासन कार्यालयका नायव सुब्बा तारणी घिमिरे सदस्य रहेका छन्।
त्यस्तै गरी कोशी प्रदेश प्रहरी कार्यालयले पनि प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ। समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्। कोशी प्रदेश प्रहरीको छानबिन समितिले साउन २५ गतदेखि छानबिन शुरू गरेको छ।
यसैगरी, गृह मन्त्रालयले पनि छानबिन समिति गठन गरेको छ। कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरिएको हो।
समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका नायब उपरीक्षक कुमार बुढाथोकी, कारागार विभागका कानून अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत सदस्य रहेका छन्।
गृह मन्त्रालयको छानबिन टोली आज सङ्खुवासभा आइपुगेको छ। टोलीले अनुसन्धान शुरू गरेको छ। अहिले सङ्खुवासभा कारागारमा आठ महिलासहित एक सय ३६ कैदीबन्दी छन्। (रासस)