सुन तस्करीलाई लिएर लगातार संसद् अवरुद्ध
सुन तस्करी प्रकरणलाई लिएर राष्ट्रिय सभा र प्रतिनिधि सभाकाे बैठक अवरुद्ध भएको छ।
शुक्रबार राष्ट्रिय सभाको बैठक शुरू हुने वितिक्कै सत्तापक्ष र प्रतिपक्षका सांसदले उठेर विरोध जनाएका थिए। त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलीय आधारमा सांसदलाई बोल्न समय दिएका थिए।
बैठकमा सांसद गङ्गाकुमारी बेल्वासेले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनजीविकाका सवालमा कुरा राख्न नपाएको जिकिर गरिन्। उनले मुलुकमा डेङ्गुको प्रकोप फैलिएको, लम्पी स्कीन रोगका कारण पशुचौैपाया मरिरहेको र बाढीपहिरोको समस्याले जनजीवन प्रभावित भएको लगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराइन्।
त्यस्तै, सांसद भगवती न्यौपानेले देशको रक्षा र सुशासन कायम गर्न बाध्यताले सदन अवरोध गर्नुपरेको उल्लेख गर्दै नेपाललाई तस्कारीको थलो बनाउन नहुने जिकिर गरिन्। सरकार जनताप्रति संवेदनशील भएर सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाएर छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।
सांसद जितेन्द्रनारायण देवले लामो समयदेखि संसद् अवरुद्ध गर्नु समस्याको समाधान नभएको उल्लेख गर्दै जनताले चाहेको सुशासन, भ्रष्टाचार न्यूनीकरण र विकास चाहना पूरा गर्नुपर्नेमा सबै लाग्नुपर्नेमा जोड दिए।
यस्तै, सांसद राजेन्द्रलक्ष्मी गैरेले बजेट पास गरेपछि बनाउनुपर्ने कानून बनाउनुपर्ने अवस्थामा सदन अवरुद्ध हुँदा आमनेपालीले खुशी नभएको उल्लेख गर्दै बाढी पीडितलाई राहत, क्षतिपूर्ति दिन आग्रह गरिन्।
सांसद मोहम्मद खालिदले नेपाली जनता राजनीतिक दलका कारण निराश उत्पन्न भइरहेको हुँदा सदन अवरुद्ध गर्न नहुनेमा जोड दिए। सांसद तुलप्रसाद विश्वकर्माले मुलुकका अगाडि जनताका जनजीविकाको सवाल, बाढीपहिरोका कारण जनजीवन कष्टकार बन्दै गएको र त्यसप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
सांसद विमला राई पौडेलले गृह मन्त्रालयको नेतृत्वमा शङ्का उत्पन्न भएको हुनाले त्यही निकायले गरेको अनुसन्धान सत्यतथ्य होला त भन्ने प्रश्न भएकाले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको बताइन्।
त्यसपछि अध्यक्ष नियमित कामकारबाही अगाडि बढाउन खोज्दा सत्तापक्ष र प्रतिपक्षका सांसदले विरोध जनाए। दुवै पक्षका सांसदले उठेर विरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले साउन ३१ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए।
त्यस्तै, एमाले सांसदको विरोधपछि प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध भएको छ। प्रतिनिधि सभाको अर्को बैठक साउन २९ गते बस्ने भएको छ।