संसद् खुलाउन सभामुख र अध्यक्षले राष्ट्रपतिसँग मागे सहयाेग
प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसद्को अवरोध खुलाउन सहयोग गर्न राष्ट्रपतिसँग आग्रह गरेका छन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा संसद्मा भइरहेको अवरोधबारे छलफल भएको जनाइएको छ।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदन सञ्चालनका निम्ति गरिएका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको संसद् सचिवालयले जनाएको छ। भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिसँग सहयोग गर्न आग्रह गरेको सचिवालयले जनाएको छ।
करीब १०० किलो सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको छ। सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेले माग गरिरहेको छ।
सरकारले भने उच्चस्तरीय समिति आवश्यक नभएको जनाएको छ। राजस्व अनुसन्धान विभागले छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिइसकेकाले केही समय पर्खनुपर्ने सरकारको धारणा छ।
जसले गर्दा केही दिनदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक स्थगन हुँदै आएका छन्।