प्रस्ट नीति नभएकाले कृषि क्षेत्रमा समस्या देखियो: कृषिमन्त्री भुसाल
“सुक्खा परेको समयमा सिंचाइ गरेको भए आज समस्या हुने थिएन। हाम्रो नदीबाट बगेर जाने पानी रोकेको भए समस्या हुने थिएन।”
कृषि तथा पशुपक्षी विकास मन्त्री बेदुराम भुसालले प्रस्ट नीति नभएको कारण कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन्। नेपाललाई कृषिप्रधान देश भनिए पनि त्यस अनुसार कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम नभएको र यसले विकराल समस्या आउने उनले बताएका थिए।
शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले नीति बनाउने तयारी गरेको पनि बताए। यस्तै, तराईमा केही समययता सुक्खा लागेका कारण कृषकहरू मारमा परेको र हालै आएको बाढीले क्षति भएको पनि उनले बताए।
मन्त्री भुसालले कृषि क्षेत्रको विकासमा सिंचाइको समस्या देखिएको बताउँदै यसमा सुधारका लागि दुवै मन्त्रालयबीच छलफल गरेर सहकार्य गरी समाधान गरिने बताए। उनले भने, “सुक्खा परेको समयमा सिंचाइ गरेको भए आज समस्या हुने थिएन। हाम्रो नदीबाट बगेर जाने पानी रोकेको भए समस्या हुने थिएन।”
यस्तै, उनले ललिता निवास प्रकरण तथा गौर हत्याकाण्डले गठबन्धनमा समस्या नआउने र यसबारे छलफल गरेर निकास निकाल्ने बताए।