चिसापानी क्षेत्रमा २०७१ सालयताकै बढी वर्षा
आउँदो शनिबारदेखि फेरि मनसुन सक्रिय हुने देखिएको र त्यो समयमा अझै बढी वर्षा हुने सम्भावना भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ सालयताकै बढी वर्षा भएको छ। वर्षा मापन केन्द्र कर्णाली चिसापानीका अनुसार यही साउन २३ गते बिहान त्यहाँ ४२४.२ मिलिमिटर वर्षा मापन गरिएको थियो।
जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र चिसापानीकी कर्मचारी पार्वती गुरुङका अनुसार यही अनुपातमा चिसापानीको माथिल्लो क्षेत्रमा वर्षा भएको भए नदीमा पानीको बहाव अत्यधिक बढी ठूलो खतरा निम्तन सक्थ्यो।
यस्तै, जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार साउन २४ गते भने १४३.९ मिलिमिटर वर्षा मापन भएको छ। चुरे क्षेत्रमा वर्षा भएकाले त्यहाँ पहिरो समेत गएको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले बताए।
अहिले पनि मनसुन सक्रिय भएकाले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। आउँदो शनिबारदेखि फेरि मनसुन सक्रिय हुने देखिएको र त्यो समयमा अझै बढी वर्षा हुने सम्भावना भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिलेको अवस्था हेर्दा शनिबारदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले नागरिकलाई सचेत रहन मौसमविद् सजिना शाक्यको सुझाव छ। दुई दिन परेको वर्षाका कारण बाढी आउँदा कैलालीका तटीय क्षेत्रमा डुबान भएको छ भने हजारौं नागरिक प्रभावित छन्। कैलालीका टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकाले नागरिकलाई सुरक्षित रहन सूचना जारी गरेका छन्।
कैलालीमा बर्सेनि कर्णाली, मोहना, पथरैया, कन्द्रा, खुटिया लगायत नदीले दुःख दिने गरेका छन्। -रासस